
समाचार कुञ्ज ‘
निराज रानाभाट, बारा । सिमरा भेट्रान क्लबको आयोजनामा असोज १७ गतेदेखि सुरु भएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१, सिमरास्थित सिमरा रंगशालामा ‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नारासहित ‘छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता -२०८३’ मा भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवै टोलीबीचको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा एपीएफ क्लबकी रश्मिकुमारी घिसिङले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्, तर पुलिस क्लबले लामो समयपछि परेन् । निर्मला वि.क. ले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन् । बराबरीपछि दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे । निर्णायक गोल भने एपीएफ क्लबका लागि पूर्णिमा राईले गरिन् । राईको गोलसँगै एपीएफ क्लबले २-१ को अग्रता बनायो र अन्ततः त्यहीँ अग्रता जोगाउँदै फाइनल यात्रा तय गर्यो । यससँगै प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने भएका छन् ।
महिला फुटबलको विकास तथा प्रवर्द्धनसँगै महिला खेलाडीहरुलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको आयोजकको भनाइ छ । उक्त प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुने छ, भने प्रतियोगिताका फाइनल खेल फ्लडलाइटमा शनिबार साँझ ५:३० बजेदेखि हुने छ । प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उप-विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ, भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेलको टिकट २ सय रुपैयाँ निर्धारण गरिएको छ । आयोजकले टिकटबाट संकलित रकमको १० प्रतिशत रकम गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितको पुर्न:स्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ वटा टोलीको सहभागिता रहेका छन् । प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब माडी (चितवन), फेयर फुटबल क्लब (धरान), कुर्साङ गोल्स फुटबल क्लब (दार्जिलिङ,भारत), झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी (झारखण्ड, भारत) र आयोजक सिमरा भेट्रान क्लब रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका तथा नगरका २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका छन् । नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को-स्पोन्सरका रूपमा जोडिएका छन् । यसैगरी, जगदम्बा स्टील, मार्बी इन्जिनियरिङ, सिमरा अटो जोन, क्लासिक इन्डस्ट्रिज, हिमालयन डिस्टिलरीलगायत विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रतियोगितामा सहयोग तथा साझेदारी गरेका छन् । बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, इन्टरनेट, बीमा, टिकटिङ, प्रसारण, प्रवर्द्धन तथा फिटनेस क्षेत्रका संस्थासमेत प्रतियोगिताका साझेदारका रूपमा जोडिएका छन् ।
भिडियो ;

प्रतिक्रिया दिनुहोस