आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

हाइकिङसँग जोडिदै पोखराको गर्लाङ सामुदायिक घरबास


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवद्र्धन प्रयास थालिएको छ ।
    पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।

    प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गरिरहेको क्लबले यस शृङ्खलालाई गर्लाङमा पुर्याएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । “हाइकर्स क्बल नेपालले पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ”, रानाभाटले भन्नुभयो,“पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिलाई हामीले हाइकिङका माध्यमबाट पर्यटकीय गन्तव्यमा पुर्याउने गरेका छौं ।”

    विभिन्न उमेर समूहका व्यक्ति एकसाथ हाइकिङमा सहभागी हुने गरेको बताउँदै उहाँले हरेक गन्तव्यमा पर्यटकीय प्रवर्द्धन भइरहेको बताउनुभयो । प्रकृति र संस्कृतिले सम्पन्न गर्लाङ गाउँमाथिबाट देखिने दृश्यले जो कोही लोभिने बताउँदै उहाँले हरिपाउबाट पोखरा बजार नेपालको झण्डा आकारमा देख्न सकिने जानकारी दिनुभयो ।

    गर्लाङमा कोरोना महामारी पूर्व घरबास सञ्चालनमा आएको थियो । लगत्तै भएको बन्दाबन्दी (लकडाउन) पछि घरबासले अपेक्षित गति लिन सकेको थिएन । पछिल्लो समय विस्तारै आकर्षण बढ्न थालेको गर्लाङ सामुदायिक होमस्टेका सदस्य चन्द्रा गुरुङले बताउनुभयो ।

    गर्लाङ सामुदायिक होमस्टेका सदस्य गुरुङ्गका अनुसार यहाँका पाँचवटा घरमा घरबास सञ्चालनमा छन् । हरेक दिन २० देखि २५ जनासम्म पाहुनालाई घरबासमा राख्न सकिने उहाँको भनाइ छ । गर्लाङ आउने पर्यटकले स्थानीय स्वादका खानासँगै प्रकृति र संस्कृतिमा रमाउन पाउने सदस्य गुरुङले बताउनुभयो ।

    यहाँबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न गाउँमाथि रहेको झुप्राङकोट उपयुक्त गन्तव्य मानिन्छ । जोगिमणिबाट करिब एक घण्टा पैदलबाट देवीथान, जैमुरे, भूतेदेवी थान, विमरे हुँदै गर्लाङ पुग्न सकिन्छ । त्यस्तै ढिँकीडाँडाबाट थुमसम्म सवारीमा पुगेर थोरै पैदल हिँडेर पनि गर्लाङ पुग्न सकिन्छ। हिमाली आवाज बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट