
समाचार कुञ्ज शुकलागण्डकी १८ साउन — नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले ३२औँ विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ।

परिषद्ले सोमबार खैरेनीटारमा पत्रकार सम्मेलन गरी साउन १८ देखि २४ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।
परिषद्का अध्यक्ष कुलकुमार कुमालका अनुसार दिवसको मूल समारोह साउन २४ गते शुक्लागण्डकी नगरपालिकाको खुला मैदानमा आयोजना गरिनेछ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साउन १९ गते एक्ले डाँडा क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण, साउन २० गते ‘आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता, साउन २१ गते बेलचौतारामा महिला तथा युवा लक्षित बृहत् अन्तरक्रिया, साउन २२ गते जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया, साउन २३ गते मूल समारोहको पूर्वतयारी बैठक तथा साउन २४ गते मूल समारोह आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार संयोजक खिम कुमालले आदिवासी जनजाति समुदायका स्थापित अधिकारको संरक्षण, अधिकार प्राप्तिका लागि आवाज उठाउने तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले सुनिश्चित गरेका अधिकारहरूको पूर्ण कार्यान्वयनका लागि सरकारलाई दबाब दिने उद्देश्यले दिवस मनाउन लागिएको बताए।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव विमल भुजेलले मूल समारोहका दिन नगरभित्रका नौ वटा जातीय संगठनको सहभागितामा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक कला–संस्कृतिको प्रस्तुति तथा रैथाने खानाका परिकारहरूको प्रदर्शनीसमेत आयोजना गरिने जानकारी दिए।
महासंघकी सचिव विर्षना श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नगरका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस