
समाचार कुञ्ज घिरिङ गाउँपालिकामा विश्व स्तनपान सप्ताहका अवसरमा स्तनपानसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ। ‘दिगो जीवनको स्वस्थ सुरुवात : प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने नारासहित १ देखि ७ अगस्टसम्म विश्व स्तनपान सप्ताह मनाइँदै आएको हो।

गाउँपालिकाले स्तनपानलाई शिशुको स्वास्थ्य र पोषणका लागि महत्वपूर्ण आधारका रूपमा जोड दिँदै आमाको दूध खुवाउनेसम्बन्धी जानकारी सार्वजनिक गरेको छ। जन्मिएपछि जतिसक्दो चाँडो, एक घण्टाभित्रै शिशुलाई आमाको दूध खुवाउनुपर्ने सन्देश दिइएको छ।
शिशुलाई जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन र ६ महिना पूरा भएपछि उमेरअनुसार पूरक खाना खुवाउँदै कम्तीमा २ वर्षसम्म निरन्तर स्तनपान गराउन सुझाव दिइएको छ। आमाको दूध शिशुका लागि अमृत समान हुने र यसले रोगसँग लड्ने क्षमता बढाउने जनाइएको छ।
स्तनपानले महिलामा स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर हुने जोखिम कम गर्ने जानकारी पनि गाउँपालिकाले दिएको छ। चिकित्सकको सल्लाहबिना शिशुलाई आमाको दूधबाहेक अन्य कुनै किसिमको दूध नखुवाउन तथा दूधपानी र बोतलको प्रयोग नगर्न आग्रह गरिएको छ।
स्तनपानसम्बन्धी उचित परामर्श तथा थप जानकारी आवश्यक परे नजिकको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
विश्व स्तनपान सप्ताह हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइन्छ। घिरिङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, पोखरीछाप, तनहुँले पनि सप्ताहका अवसरमा स्तनपानको महत्वबारे समुदायमा सचेतना अभिवृद्धि गर्ने सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस