
समाचार कुञ्ज असार ६
नवलपुरको बुलिङटार गाउँपालिका अन्तर्गत बोझापोखरी–बुलिङटार मोटरबाटो मर्मतको क्रममा अव्यवस्थित रूपमा फालिएका माटो ढुंगाका कारण चुलीबोझा गाउँ हुँदै जाने तल्लो मोटरबाटो वर्षायाम लागे यता हरेक वर्ष पहिरोले अवरुद्ध हुने समस्या दोहोरिएको छ।
बोझापोखरीदेखि चुलीबोझा गाउँसम्म करिब ११ सय मिटर र गाउँदेखि बराहथानसम्मको करिब १ किलोमिटर सडक खण्ड बर्सेनि पानीको भेल र पहिरोले क्षतिग्रस्त हुँदै आएको छ। सडक अबरुद्ध हुँदा यहाँका ९२ घरधुरी रहेको सुन्दर, शान्त चुलीबोझा गाउँका बासिन्दा मात्र होइन, गाउँमा सञ्चालनमा रहेका सामुदायिक होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रभावित हुने गरेका छन्।
गत ४ गतेको अबिरल वर्षाले पुनः मोटरबाटो अवरुद्ध बनाएपछि चुलीबोझा टोल विकास संस्था, देवचुली मिलन युवा क्लब र देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे को संयुक्त पहलमा आज जनश्रमदानमार्फत पहिरो पन्छाइ मोटरबाटो पुनः सञ्चालनमा ल्याइएको हो।
स्थानीयवासीले समय–समयमा जनश्रमदान गरेर बाटो खुलाउने बाध्यता दोहोरिइरहेकाले अब सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने उनीहरूको माग छ।
गाउँबासीको तर्फबाट सम्बन्धित निकायहरूलाई समयमै ध्यान दिन र स्थायी समाधान गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस