
समाचार कुञ्ज आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, समावेशी र प्रभावकारी बनाउन माग गर्दै ‘युवा अभियान’ले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। संस्थाले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउदै युवाहरुको मर्म अनुसार काम अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।






देशभर सञ्जाल विस्तार गरी सक्रिय रहेको संस्था युवा अभियानले निर्वाचन प्रक्रियामा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न, मतदाता सचेतना अभिवृद्धि गर्न र भयरहित वातावरण कायम गर्न आयोगको ध्यानाकर्षण गराएको हो।
अभियानले बुझाएको ज्ञापनपत्रमा सातवटा प्रमुख मागहरू समावेश छन्। तिनमा भयरहित र समन्वित निर्वाचन वातावरण सुनिश्चित गर्न आयोग, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र युवा समूहबीच समन्वयात्मक कार्यदल गठन गर्नुपर्ने, मतदाता नामावली दर्ता सम्बन्धी जनचेतना अभिवृद्धिका लागि युवाहरू, नागरिक समाज, स्थानीय संस्था र सञ्चार माध्यमलाई परिचालन गर्नुपर्ने, र लोकतान्त्रिक मूल्य र नागरिक दायित्व सम्बद्ध सन्देश प्रवाहमा युवा स्वयंसेवकको संलग्नता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, युवाले नेतृत्व गरेका संस्थामार्फत निर्वाचन शिक्षासम्बन्धी सामुदायिक कार्यक्रम सञ्चालन गर्न अनुमति, सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन, फेक न्यूज, गलत सूचना र घृणात्मक प्रचार नियन्त्रणका लागि डिजिटल सचेतना अभियान सञ्चालन गर्न, र पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गर्दै विद्यालय, कलेज र सामुदायिक तहमा नागरिक सहभागिता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आयोगसँग माग गरिएको छ।
ज्ञापनपत्रमा अपांगमैत्री मतदान केन्द्रको व्यवस्था सुनिश्चित गर्न, शारीरिक असक्षमता भएका नागरिकलाई सहज पहुँच, सहयोगी उपकरण र आवश्यक जनशक्ति सहयोग उपलब्ध गराउन विशेष ध्यान दिनुपर्ने सुझाव पनि समावेश छ।
संस्थाका अध्यक्ष गंगाबहादुर गौतमले भने, “हामीले आयोगसमक्ष प्रस्तुत गरेका सुझावहरू ‘जेन्जी आन्दोलन’को मर्मअनुसार शान्ति, समावेशिता र प्रभावकारितामा आधारित छन्। युवा पुस्ता शान्तिपूर्ण निर्वाचनका लागि हातेमालो गर्न तयार छ।”

प्रतिक्रिया दिनुहोस