
समाचार कुञ्ज घिरिङ, असार १६
तनहुँको घिरिङ गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको क्षमता विकास तालिम सम्पन्न गरेको छ।
असार ११ गतेदेखि १६ गतेसम्म दुई समूहमा सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका ३७ वटा सामुदायिक विद्यालयका शिक्षक तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। तालिममार्फत शिक्षण सिकाइ प्रक्रियामा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल माध्यमबाट कक्षा सञ्चालन तथा प्रविधिमैत्री शिक्षण पद्धतिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
तालिममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले प्रविधिमैत्री शिक्षाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँपालिकाले अघि सारेको ‘कृषि, शिक्षा, पर्यटन र स्वास्थ्यका लागि सबल पूर्वाधार, समृद्ध घिरिङको मूल आधार’ भन्ने विकास अवधारणाअनुसार शिक्षा क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिइएको उल्लेख गरे।
कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद सुवेदी तथा सहायक शिक्षा अधिकृत पुष्पा थापाले गरेका थिए। तालिममा सहभागी शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप प्रभावकारी, सहभागितामूलक र गुणस्तरीय बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।

प्रतिक्रिया दिनुहोस