
समाचार कुञ्ज डेढगाउँ, २४ भदौ । बौदीकाली गाउँपालिका–२ डेढगाउँमा प्राथमिक स्वास्थ्य उपचार तथा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा We Are Human First (WAHF Nepal) को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
संस्थाका अध्यक्ष उज्ज्वल ओझाको अध्यक्षता तथा बौदीकाली गाउँपालिका–२ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, टोल संयोजक, सहकारीका शेयर सदस्यलगायत स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बौदीकाली गाउँपालिका–१ का वडा अध्यक्ष अनिल थापा, गाउँपालिकाको शिक्षा शाखा प्रमुख जिवलाल भुसाल, वडा सदस्यहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विभिन्न टोलका टोल संयोजक तथा सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा आकस्मिक अवस्थामा अपनाउनुपर्ने बिरामीको अवस्था गम्भीर हुँदा तत्काल गर्नुपर्ने आवश्यक प्रक्रिया तथा CPR (कार्डियोपल्मोनरी रिससिटेसन) सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। सहभागीलाई CPR को व्यावहारिक पक्षबारे समेत प्रशिक्षित गरिएको थियो।
त्यस्तै, पाइल्स, फिस्टुला, फिसरलगायतका स्वास्थ्य समस्याका लक्षण, कारण, रोकथाम तथा उपचारका उपाय सम्बन्धमा WAHF Nepal का प्रशिक्षकहरूले जानकारी गराएका थिए। स्वास्थ्यसम्बन्धी विषयलाई सहज, सरल र व्यवहारिक उदाहरणसहित प्रस्तुत गरिएकाले कार्यक्रम सहभागीका लागि उपयोगी बनेको आयोजकले जनाएको छ।
समुदायमा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा प्राथमिक उपचार गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी प्राथमिक उपचार र CPR सम्बन्धी जानकारीले समुदायस्तरमा आकस्मिक स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको समापनमा आयोजक कृष्णगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जनप्रतिनिधि, प्रशिक्षक, शिक्षक, टोल संयोजक, शेयर सदस्य तथा सम्पूर्ण सहभागीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस