
समाचार कुञ्ज डेढगाउँ, १६ असोज। बौदीकाली गाउँपालिका–२, डेढगाउँमा जन्मिनुभएका वरिष्ठ चिकित्सक डा. गोपाल खनालले आफ्नै जन्मभूमिमा रहेको बौदीकाली आधारभूत अस्पतालमा स्वयंसेवी (भोलेन्टियर) रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सुरु गर्नुभएको छ।
चिकित्सा तथा प्राविधिक शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. खनालले देशका विभिन्न महत्वपूर्ण संस्थामा नेतृत्वदायी जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। उहाँ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार तथा सीटीईभीटीको उपाध्यक्षजस्ता महत्वपूर्ण पदमा रहिसक्नुभएको हो।
देशका विभिन्न स्थानमा आफ्नो पेशागत अनुभव र जिम्मेवारी निर्वाह गरिसकेपछि आफ्नै जन्मभूमिमा फर्किएर स्थानीय नागरिकको स्वास्थ्य सेवामा समय, ज्ञान र सीप समर्पित गर्ने डा. खनालको निर्णयलाई बौदीकालीमा सकारात्मक र प्रेरणादायी पहलका रूपमा लिइएको छ।
डा. खनालको अनुभव र विशेषज्ञताबाट बौदीकाली आधारभूत अस्पतालको स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने तथा स्थानीय नागरिकले आफ्नै गाउँमा अनुभवी चिकित्सकको सेवा प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। यसले अस्पतालप्रति नागरिकको विश्वास र आकर्षणसमेत बढाउने गाउँपालिकाको विश्वास छ।
डा. खनालको सेवा सुरु भएसँगै बौदीकाली आधारभूत अस्पतालमा दुई जना चिकित्सकबाट नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। डा. मोहनबहादुर बुढाले यसै महिनादेखि अस्पतालमा सेवा प्रदान गरिरहनुभएको छ भने डा. गोपाल खनालले स्वयंसेवी रूपमा अस्पतालमा सेवा सुरु गर्नुभएको हो।
आफ्नै गाउँमा जन्मिएर देशको स्वास्थ्य तथा प्राविधिक शिक्षा क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका डा. खनालले पुनः आफ्नै जन्मभूमिका नागरिकको सेवामा आफ्नो अनुभव र समय समर्पित गर्नुभएको घटनाले समाजमा जन्मभूमिप्रतिको जिम्मेवारी र सेवाभावको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
बौदीकाली गाउँपालिकाले आफ्नै जन्मभूमिको स्वास्थ्य सेवामा योगदान पुर्याउन आउनुभएका डा. खनाललाई स्वागत गर्दै उहाँको सेवा र योगदानप्रति हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस