आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

राष्ट्रिय नेतृत्वदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म नेपालको पहिचान स्थापित गर्ने बहुआयामिक व्यक्तित्व


  • समाचार कुञ्ज
  • २०८३ अषाढ २०, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ९३ पाठक संख्या
  • शिक्षा, कूटनीति, समाजसेवा, साहित्य र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सक्रिय दिवश घिमिरेले राष्ट्रिय नेतृत्व, सांस्कृतिक कूटनीति र नीति अनुसन्धानमार्फत नेपालको छविलाई विश्व समुदायमा सुदृढ बनाउन निरन्तर योगदान दिँदै आएका छन् । नेपालमा शिक्षा, समाजसेवा, साहित्य र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा बहुआयामिक योगदान दिएका व्यक्तित्वमध्ये दिवश घिमिरे एक परिचित नाम हुन् । शिक्षा प्रशासनबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेका घिमिरेले पछिल्लो एक दशकभन्दा बढी समयदेखि शैक्षिक नेतृत्व, नागरिक समाज, सञ्चार, युवा नेतृत्व, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नीति अनुसन्धानका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै घिमिरेले नेपालको पहिचान, सम्भावना र हितलाई विभिन्न देशका नीति निर्माता, कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय संस्थासामु प्रस्तुत गरेका छन् ।शिक्षा क्षेत्रबाट शुरु भएको घिमिरेको यात्रा विद्यालयको उप-प्रधानाध्यापकको जिम्मेवारीसम्म पुग्यो । विद्यालय व्यवस्थापन, शिक्षक समन्वय, विद्यार्थी विकास तथा संस्थागत उन्नयनमा घिमिरेले प्रभावकारी नेतृत्व प्रदान गरे । शिक्षा केवल पाठ्यक्रममा सीमित नभई समाज परिवर्तनको माध्यम हो भन्ने विश्वासका साथ घिमिरेले शैक्षिक नेतृत्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अघि बढाएका छन् ।

    घिमिरेको सार्वजनिक जीवन केवल शिक्षामा सीमित छैन । नागरिक समाजका राष्ट्रिय उपाध्यक्षका रूपमा घिमिरेले सार्वजनिक सरोकारका विषयमा आवाज उठाउने, समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तथा नीति / निर्माण प्रक्रियामा नागरिक सहभागिता सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेका छन् । शिक्षक संगठन, स्काउट आन्दोलन, विद्यार्थी नेतृत्व तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थामा आबद्ध रहँदै घिमिरेले युवालाई नेतृत्व विकास, शान्ति स्थापना र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्दै आएका छन् ।अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा घिमिरेको सक्रियता विशेष उल्लेखनीय छ । घिमिरेले बेलायत, जापान, भारत, चीन, अष्ट्रेलिया, सिंगापुर, मलेसिया, बंगलादेश, थाइल्यान्ड, कतार, म्यानमार तथा युरोपका विभिन्न मुलुकहरूमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन, संवाद तथा उच्चस्तरीय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गरेका छन् । ती अवसरहरूमा घिमिरेले शिक्षा, व्यापार, लगानी, प्रविधि, पूर्वाधार, पर्यटन, वातावरण, क्षेत्रीय सहकार्य, सांस्कृतिक आदानप्रदान तथा मानव विकासजस्ता विषयमा वरिष्ठ सरकारी अधिकारी, कूटनीतिज्ञ र नीति / निर्मातासँग विचार आदानप्रदान गरेका छन् । यस्ता सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व समुदायसँग सहकार्य विस्तार गर्न सकारात्मक योगदान पुर्‍याएको देखिन्छ ।

    सन् २०२४ सालमा घिमिरेले नेपाल र अष्ट्रेलियाबीच ७ दिने सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रमुख संयोजक तथा मुख्य आतिथ्यकर्ताको जिम्मेवारी सम्हाले । अष्ट्रेलियाबाट आएका विद्यार्थी, प्राध्यापक, कानुनविद्, सामाजिक अभियन्ता तथा इन्जिनियरहरूको टोलीलाई नेपाली संस्कृति, परम्परा, समुदाय र प्राकृतिक सम्पदासँग परिचित गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम अत्यन्त सफल रह्यो । विशेषगरी नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई केन्द्रमा राखेर सञ्चालन गरिएको बहुदिने क्याम्पिङ कार्यक्रमले सहभागीहरूको उच्च प्रशंसा प्राप्त गर्‍यो । कार्यक्रमको सफलतापछि घिमिरेलाई अष्ट्रेलिया आमन्त्रण गरी भविष्यमा नेपाल – अष्ट्रेलिया शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरिएको थियो । दिवश घिमिरे नीति अनुसन्धान र लेखनमा पनि सक्रिय छन् । घिमिरेले तयार पारेको ‘Beyond Borders : The Lived Realities of Nepali Migrants in Australia and the Road to Stronger Bilateral Support’ शिर्षकको नीति अनुसन्धानले अष्ट्रेलियामा रहेका नेपाली आप्रवासीहरूको जीवन, रोजगारी, आवास, मानसिक स्वास्थ्य, शैक्षिक प्रमाण-पत्रको मान्यता तथा सामाजिक सुरक्षासम्बन्धी चुनौतीहरूको विस्तृत अध्ययन प्रस्तुत गरेको छ । अध्ययनले नेपाल र अष्ट्रेलियाबीच आप्रवासी हित संरक्षणका लागि दूतावासस्तरमा सहयोग संयन्त्र स्थापना, पूर्व प्रस्थान अभिमुखीकरण, कानुनी तथा मनोसामाजिक सहायता, श्रम अधिकार संरक्षण र द्विपक्षीय सहकार्य विस्तारका व्यावहारिक सुझावहरू अघि सारेको छ । यो अनुसन्धानले नीति / निर्माणमा प्रमाणमा आधारित दृष्टिकोणको आवश्यकता उजागर गरेको छ ।

    सञ्चार क्षेत्र पनि घिमिरेको अर्को महत्वपूर्ण कार्यक्षेत्र हो । रेडियो त्रिवेणी एफएममा कार्यक्रम प्रस्तोताका रूपमा घिमिरेले शिक्षा, जनचेतना र सामाजिक उत्तरदायित्वका विषयमा कार्यक्रम सञ्चालन गरे, भने चितवन पोस्टमा नियमित लेखनमार्फत शिक्षा, संस्कृति र सामुदायिक विकासका विषयमा जनमत निर्माणमा योगदान दिएका छन् । सरल भाषा, तथ्यपरक विश्लेषण र समाजप्रतिको उत्तरदायित्व घिमिरेको लेखनको विशेषता मानिन्छ । यसैगरी, साहित्यमा पनि घिमिरेको उल्लेखनीय योगदान रहेको छ । ‘गन्तव्य र पाइलाहरू’, ‘नेपालका चाडपर्वहरू’ तथा स्काउट आन्दोलनसँग सम्बन्धित पुस्तकहरू प्रकाशित गरेर घिमिरेले नेपाली साहित्य र सामाजिक इतिहासलाई समृद्ध बनाउने प्रयास गरेका छन् । साहित्यलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्ने घिमिरेको दृष्टिकोणले नयाँ पुस्तालाई सिर्जनशील सोच र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गरिरहेको छ । घिमिरेको योगदानको कदर स्वरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त भएका छन् । भारतको राष्ट्रिय समाज सेवा रत्न पुरस्कार, एसियाज यङ अचिभर अवार्ड, कोरिया स्काउट एसोसिएशन अन्तर्राष्ट्रिय सम्मान, पूर्व प्रधानमन्त्रीहरूबाट प्रदान गरिएका राष्ट्रिय शिक्षा तथा साहित्य पुरस्कार, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त सम्मानहरूले घिमिरेको बहुआयामिक योगदानको पुष्टि गर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑