आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

रसुवा बाढीपीडित सहयोगार्थ अत्रौलीमा राष्ट्रिय कलाकार तथा खेलकुद मेला


  • समाचार कुञ्ज
  • २०८३ आश्विन १, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २७ पाठक संख्या
  • तनहुँ, २ असोज । रसुवा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले घिरिङ गाउँपालिका–१ अत्रौलीमा आयोजित ‘हरितालिका तीज तथा ऋषि पञ्चमी प्रथम अत्रौली राष्ट्रिय कलाकार तथा खेलकुद व्यापार मेला–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

    अत्रौली युनाइटेड क्लबको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्ता रानी परियारलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। मनोरञ्जनसँगै सामाजिक सेवाको भावनालाई जोड्दै बाढीपीडितको सहयोगका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिकबाट गरिएको थियो। अत्रौली युनाइटेड क्लबका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रममा घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, पूर्वअध्यक्ष रनबहादुर राना, पूर्वउपाध्यक्ष सरस्वती सिग्देल, अधिवक्ता तथा समाजसेवी विष्णुभक्त सिग्देल , युवा नेता आके पोखरेल, वडा अध्यक्षहरू लगायतको उपस्थिति  रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै सांसद न्यौपानेले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागिरहने बताउनुभयो। उहाँले घिरिङको शालिग्राम करिडोर कालोपत्रे गर्ने, खानेपानी व्यवस्थापन गर्ने तथा भिमाद–अत्रौली–पुर्टार हुँदै डेढगाउँदेखि कावासोतीसम्म सुरुङमार्ग निर्माणको परियोजना अघि बढाउने विषयमा चर्चा गर्नुभयो। उहाँका अनुसार प्रस्तावित सुरुङमार्गको दूरी करिब ४२ किलोमिटर हुनेछ।

    कार्यक्रममा कृष्ण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ध्रुवराज सिग्देलले स्वागत मन्तव्य गर्नु भएको  थियो भने कार्यक्रम सञ्चालन शान्ति श्रेष्ठले गर्नुभएको थियो।

    उद्घाटन समारोहलाई भव्य बनाउन सहयोग गरेको भन्दै आयोजकले अत्रौली युवा क्लब, घिरिङ–१ तथा मुख्य प्रायोजक रेशमबहादुर विक, रामकुमार विश्वकर्मा र मोहन विश्वकर्मा (गुड्डु)प्रति आभार व्यक्त गरेको छ।

    मेलाको अर्को चरणअन्तर्गत आजदेखि पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत मनोरञ्जन, खेलकुद र सामाजिक सेवाको भावनालाई एकैसाथ अघि बढाइएको आयोजकको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑