
समाचार कुञ्ज काठमाडौं, असार २४ गते । भीषण वर्षासँगै आएको बाढीले रसुवाको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिए ।
यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले सुख्खा बन्दरगाहामा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको उनले जानकारी दिए ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका गाडीमध्ये अधिकांश बाढीले बगाएको उनको भनाई छ । प्रजिअ पौडेलका अनुसार बन्दरगाहा काम गर्ने केही ड्राइभर र मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन ।
यहाँ क्षति ठूलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना सङ्कलन गर्ने काम भइरहेको पौडेलले बताए । बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस