काठमाडौं ।
वि.सं. २०८१ सालको बडा दशैं ( विजयादशमी ) को उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ । टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । सो दिन टीका लाइदिने व्यक्ति पूर्व मोहडा र टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्केर लगाउनु पर्ने छ ।
यस्तै, समितिका अनुसार असोज १७ गते नवरात्र आरम्भ तथा घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । यसैगरी, असोज २४ गते बिहान ७ बजेर ११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ, भने स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा शुभ साइत रहेको छ । यसै दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ । यस वर्ष महाष्टमी, कालरात्रि र र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
त्यसैगरी, सरकारी कार्यालयमा असोज १८ गते ९ बजेर ५४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नु पर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमा छ । कोजाग्रत पूर्णिमादेखि बडा दशैं पनि सकिन्छ ।
प्रतिक्रिया दिनुहोस