३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

म्याग्देमा तीन लाख राशीको प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने 

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १८३

  • माघ 
    तनहुँको म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी फागुन १३ देखि २२ गतेसम्म वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा उक्त प्रतियोगिता गरिने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

    नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेको भन्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

    सो फुटबल प्रतियोगितामा प्रथम पुरस्कार कर सहित रु तीन लाख रहेको छ । त्यस्तै द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने छ ।

    साथै सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

    यस्तै जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते वडा नम्बर ४ स्थित व्याडमिन्टन कवर्डहलमा सञ्चालन गरिने भएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५० हजार, दोस्रो हुने टोलीलाई नगद रु ३० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद रु १०÷१० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ

    यसैगरि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप–२०८१ को रुपमा वडा स्तरीय पुरुष
    तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका सात वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहनेछ । 

    प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ८० हजार र दोस्रो हुने टोलीलाई रु ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र
    उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । 

    उक्त सबै प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको लागि रु २० लाख विनियोजन गरेको छ ।