२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

बागमति प्रदेशमा युवा सम्मेलन सुरु, झन्डै ३ सय युवा सहभागी

  • समर रानाभाट
  • ५ दिन अघि
  • पाठक संख्या ८०

  • तेस्रो संस्करणको बागमति प्रदेश युवा सम्मेलन सुरु भएको छ । प्रदेश युवा परिषद् बागमति प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार गरेका हुन् ।
    ‘यहाँहरुको उत्साहले म पनि युवा भएको छु । राज्यको अमुल्य शक्ति र अनन्त स्रोत युवा हो । तपाईहरुको अर्थपूर्ण सहभागिता बिना देशको विकास हुन सक्दैन,’ कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री लामाले भने, ‘बागमति प्रदेशमा कुल जनसंख्याको ४५ दशमलव ४ प्रतिशत युवाहरु छन् । प्रदेशको समृद्धी र विकासमा यसलाई ठूलो पुँजीका रुपमा लिएका छौं । त्यहीअनुसार युवा ऐन तयार गरेर युवा लक्षित कार्यक्रमहरु ल्याइरहेका छौं ।’
    ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन ः बागमतिमा युवा सशक्तिकरण’ मुल नारा दिइएको सम्मेलनमा बागमति प्रदेशका सबै १ सय १९ पालिकाका प्रतिनिधि युवासहित देशभरका कुल ३ सय युवा सहभागी छन् । तीन दिने सम्मेलनका दौरान युवाहरुले जल्दाबल्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा बहस—विमर्श गर्नेछन् ।
    आफ्नो पालिका तथा प्रदेशमा भएका असल अभ्यास र समाजमा देखिएका चुनौतीबारे उनीहरुले छलफल गर्नेछन् । कार्यक्रममा कृषिमा युवाको सहभागिता, डिजिटल साक्षरता, शैक्षिक गुणस्तर सुधार, जलवायु परिवर्तन र दिगो विकासमा युवाको पैरवी, नीति—निर्माण र नेतृत्वमा युवाको उपस्थितीलगायत विभिन्न शीर्षकमा अन्तक्रिया हुनेछन् ।
    त्यस्तै, समापनको दिन मंगलबार युवासँग मुख्यमन्त्री अन्तक्रिया कार्यक्रम हुनेछ ।

     
    ३० वैशाखसम्म चल्ने सम्मेलनका दौरान सांस्कृतिक कार्यक्रम, कथावाचन, युवाहरुको क्षमता पहिचान, हेटौंडा हेरिटेज वाकलगायत विभिन्न कार्यक्रम हुनेछन् ।
    उद्घाटन कार्यक्रममा बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङलगायत विशिष्ट अतिथीहरु उपस्थित थिए ।
    अन्तरप्रदेश युवा संवाद
    कार्यक्रममा देशभरकै युवाहरुको सहभागिता छ । यसक्रममा विभिन्न प्रदेशमा भएका असल अभ्यासहरु आदन—प्रदान हुनेछ । ‘युवाहरु देशका मेरुदण्ड हुन् । हामीले युवाहरुलाई सरकारसँग जोड्ने, नीति—निर्माणमा युवाको उपस्थिती र पैरवी बलियो बनाउने लक्ष्य साथ यो कार्यक्रम गरेका हौं,’ प्रदेश युवा परिषद् बागमति प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईंले भने,‘ युवाहरु विभिन्न बहानामा आफ्नो जिम्मेवारीबाट पछि हट्ने प्रवृत्ति पनि बढ्दो छ । हामीले संभावनाका क्षेत्र पहिचान गरेर यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ । आफ्नो पालिका वा प्रदेशमा भएका असल अभ्यासहरुको अनुभव आदन—प्रदान गर्न सहभागीहरुलाई मञ्च उपलब्ध गराउने लक्ष्यले तीन वर्षदेखि लगातार यो कार्यक्रम गरिरहेका छौं । । बागमति प्रदेशमा आर्थिक वर्षमा प्रदेशभरका १० हजारभन्दा बढी युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर उद्यमशिलता र रोजगारीमा जोड्ने प्रयास गरेको छ । केही हुँदैछ भन्ने सकारात्मक सोच राखेर हामी अघि बढ्नुपर्छ ।’ यसअघि आइतबार कार्यक्रम उद्घाटनपूर्व हेटौंडा बजारमा प्रभातफेरी निकालिएको थियो ।