आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रदेशबाट बाबुको भावुक आग्रह : “छोरालाई अंकभन्दा असल मान्छे बनाइदिनुहोस् शिक्षकज्यू”


  • समाचार कुञ्ज
  • २०८२ माघ २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १४ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपुर, 

    परदेशी भूमिमा श्रम गर्दै आएका एक नेपाली बाबुले आफ्नो छोरा पढाइरहेका कक्षा शिक्षकलाई भावुक पत्र लेख्दै छोराको भविष्यप्रति चिन्ता र आशा व्यक्त गरेका छन्। शिव माध्यमिक विद्यालय, कावासोती–२, नवलपुरमा कक्षा ८ (सेक्सन A1) मा अध्ययनरत अर्पित लुईटेलका बाबु अर्जुन अविरलले शिक्षकलाई पत्र लेख्दै छोराको पढाइसँगै चरित्र, अनुशासन र संगतप्रति विशेष ध्यान दिन आग्रह गरेका हुन्।
    पत्रमा उनले परिवारको भविष्यका लागि टाढा बसेर पसिना बगाइरहँदा छोराको दैनिक गतिविधि नजिकबाट नियाल्न नपाएको पीडा उल्लेख गरेका छन्। “छोराको बिहान, विद्यालय जाने बाटो, कक्षामा बसेर गर्ने प्रयास र कहिलेकाहीँका साना–ठूला गल्तीहरू नजिकबाट हेर्न नपाउनु मेरो जीवनको सबैभन्दा ठूलो पीडा हो,” उनले पत्रमा लेखेका छन्।
    उनले शिक्षकलाई छोराको पढाइभन्दा पनि असल मान्छे बनाउने मार्गदर्शन गर्न आग्रह गरेका छन्। “अंकभन्दा पनि ऊ असल, अनुशासित र इमानदार नागरिक बनोस्, यही नै मेरो सबैभन्दा ठूलो चाहना हो,” उनले उल्लेख गरेका छन्।
    पत्रमा उनले शिक्षकलाई दोस्रो अभिभावकको संज्ञा दिँदै विद्यालयलाई बालबालिकाको दोस्रो घर मानेका छन्। “यी बालकहरू काँचो माटो हुन्—तपाईंहरूले दिनु भएको आकारमै उनीहरूको भविष्य ढल्किनेछ,” उनले भावुक शैलीमा लेखेका छन्।
    अविरलले छोराको Pre-BLE परीक्षा सुरु हुन लागेको सन्दर्भसमेत उल्लेख गर्दै, छोराले मेहनत गरिरहेको र क्रमशः बुझ्दै गएको बताएका छन्। उनले अंकको दबाब नदिएको स्पष्ट पार्दै रुचिअनुसार ज्ञान र सिप विकास होस् भन्ने चाहना व्यक्त गरेका छन्।
    “विद्यालयमा सधैं प्रथम हुने कतिपय विद्यार्थी पछि बिग्रिएका पनि छन्, र मध्यम अंक ल्याउनेहरू जिम्मेवार र सफल बनेका पनि छन्,” उनले पत्रमा उल्लेख गरेका छन्।
    जन्मदिनको दिन झन् बढ्यो चिन्ता
    पत्रमा आज अर्पितको जन्मदिनसमेत रहेको उल्लेख गर्दै उनले छोरा १४ औं बसन्त पार गरेर १५ औं बसन्तमा प्रवेश गरेको बताएका छन्। उनले यो उमेरलाई संगतले बिगार्न सक्ने संवेदनशील उमेर भएको भन्दै शिक्षकलाई छोराको आनीबानी, संगत र व्यवहारबारे विशेष निगरानी गर्न आग्रह गरेका छन्।
    “यो उमेर भनेको संगतले बिग्रने उमेर पनि हो। त्यसैले उसको संगतदेखि सबै आनीबानीका बारेमा बुझेर उसलाई ख्याल गर्नुहुनेछ भन्ने आशा गरेको छु,” पत्रमा भनिएको छ।
    सहपाठी मित्रलाई विशेष अनुरोध
    अविरलले शिक्षक आफूका सहपाठी मित्रसमेत रहेको उल्लेख गर्दै छोरालाई आफ्नै सन्तान सरह रेखदेख गर्न आग्रह गरेका छन्। साथै छोराको कमजोरी, समस्या र सुधारका पक्षबारे जानकारी गराइदिन अनुरोधसमेत गरेका छन्।
    पत्रको अन्त्यमा उनले “हृदयदेखि आभारसहित” भन्दै जिम्मेवार बाबुको हैसियतले शिक्षकप्रति सम्मान र भरोसा व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट