३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

घिरिङ गाउँपालिकामा दादुरा-रुवेला खोप अभियान शुरू हुँदै; अभिमुखिकरण सम्पन्न।

  • समर रानाभाट
  • १ बर्ष अघि
  • पाठक संख्या ४३७

  • फागुन १७, अन्जान परियार, घिरिङ। घिरिङ गाउँपालिकाले दादुरा-रुवेला खोप  पुरक मात्राको अभियान सुरु गर्ने भएको छ। गाउँपालिका भित्र रहेका ९ महिना देखि ५ वर्ष मुनिका करिब ८ सय ७६ जना बालबालिकाहरुलाई फागुन २२ देखि २५ गते सम्म सो खोप लगाइने सुचना जारी गरेको छ।

    सो अभियान लाई लक्षित गरि बिहिवार गाउँपालिकाको सभाहलमा घिरिङ गाउँपालिका स्तरिय खोप समन्वय समितिको बैठक बसि सरोकारवालाहरुलाई "दादुरा- रूवेला रोग विरुद्धको खोप अभियान" बारे  अभिमुखिकरण कार्यक्रम गरेको थियो। 
    तनहुँमा दुई चरणमा खोप अभियान सन्चालन भएकोले पहिलो चरणमा फागुन १५ देखी २० गतेसम्म व्यास नगरपालिका, देवघाट, बन्दिपुर, आबुँखैरेनी र म्याग्दे गाउँपालिकामा सन्चालन भइरहेको र फाल्गुण २२ गते देखी २७ गतेसम्म भिमाद, भानु, शुक्लागण्डकी नगरपालिका तथा घिरिङ र ऋषिङ्ग गाउँपालिकामा सन्चालन हुने जानकारी गराइएको थियो। साथै खोपको सकारात्मक प्राभव बारे स्पष्ट गराइएको थियो। सो कार्यक्रम लाई घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले सहजीकरण गरेका थिए।  

    यस्तै २२ गते देखि २५ गते सम्म संचालन हुने खोप अभियानमा घिरिङ गाउँपालिकाको ५ वटै वडामा २० वटा खोप केन्द्र तोकिएको  स्वास्थ्य शाखा प्रमुख रिमालले  जानकारी दिए। खोप अभियानका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिई खोप कार्यक्रम प्रभावकारी बनाउनको लागि सबै खोप केन्द्रमा सम्पर्क ब्यक्ती तोकिएको उनले बताएका थिए ।

    अभिमुखिकरण कार्यक्रम घिरिङ गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको थियो। अधिकारीले कुनै पनि बालबालिका लाई नछुटाई खोप लगाउन स्वास्थ्य शाखालाई निर्देशन गरेकी छन। उनले अभिभावकहरुलाई कति पनि हेलच्यक्र्याई नगरि समयमै आफ्ना बालबालिकाहरुलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउनका लागि समेत  आग्रह गरेकी छन।

    अभिमुखीकरण कार्यक्रममा घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरू, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख, बिधालयका प्रधानाध्यापकहरु, पत्रकार, सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, लगायत विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।