२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

“सरकारले निर्णय गर्न नसक्दा सडक अलपत्र पर्यो” : पालिका अध्यक्ष गिरि

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या १६९

  • दिपेन्द्र रेग्मी, पुष २, कावासोती,

    मन्त्री परिषद्बाट निर्णय नआउँदा दुम्कीवास– त्रिवेणी सडकखण्ड अलपत्र परेको विनयि त्रिवेणि गाउँपालिकाको अध्यक्ष घनश्याम गिरिले बताउनुभएको छ ।
    गण्डकी प्रदेशको लाइफ लाइनका रुपमा रहेको नवलपुरको दुम्कीवास–त्रिवेणी सडकखण्ड अलपत्र पारिएको भन्दै स्थानियले प्रदेश परिवर्तनकै माग राखेर आन्दोलनमा जाने चेतावनी दिएपछि पालिका अध्यक्ष गिरिले पनि उक्त मागमा ऐक्यवद्धता जनाउने बताउनुभएको हो ।
    आज विहान हामिसँग कुराकानि गर्दै अध्यक्ष गिरीले बाटो नबन्ने कुनै कारण नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्ज एवं युनेस्कोको स्वीकृति समेत पाईसकेको अवस्थामा केन्द्र सरकारले नै निर्णय नगरिदिँदा १७ वर्षदेखि सडक अलपत्र परेको बताउनुभएको छ ।
    सरकार परिवर्तनसँगै नयाँ बन्ने मन्त्री एवं प्रदेश प्रमुखहरुले समेत उक्त सडक खण्डलाई प्राथमिकतामा राखेर बाटो निर्माणको प्रतिबद्धता जनाउने गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै स्थानियले आन्दोलनमा जाने चेतावनि दिएका हुन् ।
    संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल देखि गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीहरु पृथ्वी सुब्बा गुरुङ, कृष्ण चन्द्र नेपाली, खगराज अधिकारी सहित अहिलेका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र यातायात मन्त्री प्रकाश बहादुर केसीले समेत उक्त नाका र सडक खण्डको निरिक्षण गरिसकेका छन् । तर सबैले छिट्टै खुलाउने आश्वासन दिएर फर्किएपनि स्थानिय जनताले उनिहरुको प्रतिबद्धता अनुरुपको काम नभएको बताएका छन् ।
    भारतसँग सहजै जोडिन सक्ने र भन्सारसमेत संचालन हुने भएकाले यसलाई विशेष चासो दिनुपर्नेमा मन्त्री परिषद्बाट निर्णय नआउँदा खोलिसकेको ट्र्याक सफाईको काम समेत गर्न नपाएको गिरिले बताउनुभयो ।
    २०६२ सालदेखि सुरु गरिएको उक्त २० किलोमिटरको सडकखण्ड २०६३ सालमा ट्रयाक पुरा गरेर केहि समय सवारी साधन गुडाएको भएपनि वर्षा र पहिरोको कारण बाटो नै मेटिने अवस्थामा पुग्दा समेत थप निर्माणको काम अघि नबढेपछि अहिले सडक अलपत्र बनेको छ ।
    विनयी त्रिवेणी ६ का स्थानीय पाण्डव राज घिमिरेले आफ्नै पालिकामा जान पनि अर्कै जिल्ला, अर्कै प्रदेश भएर जानु पर्ने बाध्यता रहेको भन्दै बरु आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभिदिए सहज हुने बताएका छन् ।
    स्थानियले बाटो सञ्चालनमा नल्याए प्रदेश परिवर्तनकै माग राखेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    हुलाकी सडक खण्डले चिनिने उक्त बाटो २०६३ सालमा गजेन्द्र मोक्ष धामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालिन १४ गाविसका जनता मिलेर ट्रयाक खोली निर्माण सुरु भएको थियो । तर ट्रयाक नै मेटिने अवस्थामा पुग्दा समेत हालसम्म पनि बाटो निर्माणले गति नलिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।
    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले आफ्नो पालिकाको ६ र ७ नं. वडाका वासिन्दाको दुःखलाई बुझेर स्थानिय सरकारले पटक पटक मन्त्री देखि प्रधानमन्त्रीलाई भेटेर कुरा राखेपनि आश्वासन बाहेक केहि पाउन नसकेको बताउनुभएको छ ।
    उहाँले कि सडक सञ्जाल तुरुन्त खोल्नुपर्ने नत्र दुई वडालाई लुम्बिनी प्रदेशमा राखिदिन माग गर्नुभएको छ । उहाँले भन्नुभयो : “कि जोडिदेउ, नत्र तोडिदेउ, हाम्रो माग नै यहि हो ।”
    पालिकाको पहलमा दुम्कीवासदेखि बगुवनसम्मको आठ किलोमिटरसम्म गाडी गुड्ने बाटो बनेको छ । त्रिवेणिको गजेन्द्र मोक्ष धामबाट चार किलो मिटरको दुरीमा भारतीय सीमा भैंसालोटन रहेको छ । बगुवनबाट त्रिवेणीको गजेन्द्र मोक्षधाम जाने आठ किलोमिटर बाटो बन्न नसक्दा त्रिवेणीका वासिन्दा आफ्नै गाउँपालिका जान वा जिल्ला सदरमुकाम कावासोती र प्रदेशको राजधानी आवतजावतका लागि समेत लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी अन्तर्गतको ६० किलोमिटर लामो बाटो हिड्नु पर्ने बाध्यता बनेको हो ।