२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

खानेपानी आयोजनाको दीगो व्यवस्थापनका लागि गोलन्जोरमा प्लम्बिङ तालिम सम्पन्न

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या २८३

  • सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ मा पाँच दिने प्लम्बिङ तालिम मंसिर २४ देखि २८ सम्म सञ्चालन गरी सफलतापूर्वक सम्पन्न भएको छ। ब्याक टु लाइफ ई भी जर्मनी र सिएसडिएस सिन्धुलीको सहकार्यमा आयोजित यो तालिमले स्थानीयवासीलाई प्राविधिक सीप प्रदान गर्दै खानेपानी व्यवस्थापनलाई दीगो बनाउने लक्ष्य राखेको थियो।

    गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो। वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद पोखरेलको विशेष आतिथ्य र सातै वडाका अध्यक्षहरूको सहभागितामा तालिमको समापन समारोह सम्पन्न भयो।

    तालिममा गाउँपालिकाका विभिन्न वडाबाट आएका २० जना सहभागीले प्लम्बिङसम्बन्धी आवश्यक सीप सिकेका छन्। समापन कार्यक्रममा अध्यक्ष बरालले खानेपानी आयोजनाहरूको मर्मत सम्भार र दीगो व्यवस्थापनमा तालिमको महत्त्वलाई जोड दिंदै, सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।

    तालिमका क्रममा सहभागीहरूले थाङ्ग्रे गाउँमा रहेको खानेपानी तथा सरसफाइ संस्थाको अवलोकन भ्रमण गरे। अन्तिम दिन प्रशिक्षक तेज बहादुर शाही र सिएसडिएसका प्रोजेक्ट म्यानेजर विष्णु प्रसाद पौडेलले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरेका थिए।