३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

दाउन्ने सडक खण्डमा वैशाख ३१ गतेसम्म राति ११ बजे देखि बिहान ५ बजे सम्स बन्द

  • समर रानाभाट
  • ३ हप्ता अघि
  • पाठक संख्या १०८

  • मध्यविन्दु (नवलपरासी), १६ वैशाख  

    नारायणगढ–बुटवल  सडक खण्ड अन्तरगतको दाउन्नेक्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गते सम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।

    यस अघि वैशाख १५ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकोमा त्यसलाई आगामी वैशाख ३१ गते सम्म निरन्तरता दिइने भएको हो ।

    नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गते सम्म प्रत्येक दिन राति ११ः०० बजे देखि भोलि पल्ट बिहान ५ः०० बजे सम्म आवागमन बन्द गरिने भएको हो ।

     “दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माण कार्य गर्ने गरी रातको समयमा सवारी साधन सञ्चालन रोकी निर्माण कार्यलाई अहिले तीव्रता दिइएको छ”,उहाँले भन्नु भयो,“सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षा अगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।”

    यस अघि दाउन्ने सडक खण्डमा चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म र २०८२ वैशाख १ गते देखि रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भई रहेको छ ।

    अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनु भयो ।

    नारायणगढ-बुटवल सडक खण्डको ११४ किलोमिटर अन्तर्गत गैँडाकोट देखि दाउन्नेसम्मको ६५ किलोमिटर मध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा ३ लेनको सडक विस्तारको काम चलिरहेको छ ।

    १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म ३ पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद २०८२ साउन ८ गते सम्म रहेको छ ।