२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

हुप्सेकोट गाउँपालिकामा ४० जना उद्यमी उत्कृष्ट उद्यमीका रूपमा छनोट

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या १३९

  • गौडेल,हुप्सेकाेट ,
    नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्वको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत हुप्सेकोट गाउँपालिकामा ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।गाउँपालिका भित्र रोजगारी र उद्यम प्रवद्र्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ९८ आवेदनमध्ये सोच र सीप, विद्यमान अवस्था, नवप्रवर्तन क्षमता, व्यावसायिक योजना, बजार सम्भावना, नेतृत्व क्षमता र सामाजिक प्रभावजस्ता मापदण्डका आधारमा ४० जना उद्यमी छनोट गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो ।
    “छनोट भएका ४० उद्यमीमध्ये आगामी चरणमा उत्कृष्ट २० उद्यमीलाई सुदृढीकरण तालिम दिइनेछ । त्यसपछि उनीहरूलाई व्यावसायिक योजना सुधार, बजार विस्तार, र उद्यम विकास साझेदारीका माध्यमबाट थप सहयोग गरिनेछ”,उहाँले भन्नु भयो,“अन्तिम चरणमा मूल्याङ्कन गरी १० जना उत्कृष्ट उद्यमीलाई विशेष नेतृत्व विकास, लगानी परिचालन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोडनका लागि सहयोग गरिनेछ ।”
    कार्यक्रमको मूल उद्देश्य गाउँपालिका क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई मजबुत बनाउँदै दिगो रोजगारी र आय वृद्धिमा योगदान गर्नु रहेको कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताउनु भयो ।
    “यस कार्यक्रम अन्तरगत शासकीय क्षमता सुदृढीकरण र बहुपक्षीय सरोकारवालाबिच ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य पनि रहेको छ”,प्रबन्धक पोख्रेलले भन्नु भयो ।समृद्ध नेपालको साझा परिकल्पनालाई साकार पार्न र ग्रामीण क्षेत्रमा रोजगारी तथा आय वृद्धिमा योगदान पु¥याउन ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम’ त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनु भयो ।
    उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीमा गण्डकी प्रदेशका पाँच वटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।