आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

देवचुलीमा खानेपानी, सरसफाइ तथा भान्सा सुधार सम्बन्धी अभिमुखीकरण सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २५, सोमबार मा प्रकाशित ४ दिन अघि
  • १५ पाठक संख्या
  • देवचुली । देवचुली नगरपालिकामा खानेपानी, सरसफाइ तथा भान्सा सुधार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा आइतबार सेवा क्षेत्रभित्र रहेका विभिन्न आमा समूहका पदाधिकारीहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।कार्यक्रममा डा. आजात पुरीले भान्सा सुधार सम्बन्धी विषयमा सहजीकरण गर्दै स्वस्थ र सुरक्षित भान्साको महत्व, पोषणयुक्त खानाको प्रयोग, खाद्य सामग्रीको उचित भण्डारण, भान्साको सरसफाइ तथा परिवारको स्वास्थ्यमा सुधारिएको भान्साको भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले अस्वस्थकर खानपान र अस्वच्छ भान्साका कारण विभिन्न रोगहरू निम्तिन सक्ने भएकाले प्रत्येक घरपरिवारले भान्साको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।त्यसैगरी जलवायु अनुकुलन वास परियोजनाका परियोजना संयोजक प्रवीण घिमिरेले खानेपानी तथा सरसफाइ सम्बन्धी सहजीकरण गर्दै सुरक्षित खानेपानीको महत्व, पानीजन्य रोगबाट बच्ने उपाय, खानेपानीका स्रोतहरूको संरक्षण, व्यक्तिगत तथा वातावरणीय सरसफाइका अभ्यास र समुदायमा सरसफाइ संस्कृतिको विकासका विषयमा जानकारी दिनुभयो। उहाँले स्वच्छ खानेपानी र सरसफाइ स्वस्थ जीवनको आधार भएको उल्लेख गर्दै समुदायका सबै तह र वर्गको सक्रिय सहभागिताबाट मात्रै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो।

    कार्यक्रममा सहभागी आमा समूहका पदाधिकारीहरूले आफूहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई घरपरिवार तथा समुदायस्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका लागि आमा समूहहरू प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

    कार्यक्रम संस्थाका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष कडरियाले खानेपानी तथा सरसफाइसँग सम्बन्धित विषयहरू केवल पूर्वाधार निर्माणमा मात्र सीमित नभई जनचेतना र व्यवहार परिवर्तनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँले समुदायमा स्वच्छता, स्वास्थ्य र सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका कार्यसमिति, कर्मचारी तथा सेवा क्षेत्रभित्रका विभिन्न आमा समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट