
समाचार कुञ्ज
दीपेन्द्र रेग्मी, जेठ २१, कावासोती ।






नवलपुरको हुप्सेकोट गाउँपालिकाको पशुसेवा शाखाले पालिकामा सबैभन्दा धेरै दुग्ध उत्पादन गर्ने उत्कृष्ट ५ कृषकहरुलाई सम्मान गरेको छ ।
“दूध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार“ भन्ने मूल नाराका साथ विश्व दूध दिवस–२०८३ को अवसर पारि आज(बिहिबार) हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको अहिले सम्म पालिकामा सबैभन्दा धेरै दुध उत्पादन गर्ने ५ जना कृषकहरुलाई सम्मान गरिएको हो ।
हुप्सेकोट गाउँपालिका, पशु सेवा शाखा प्रमुख वुद्धि बहादुर देउजाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मि देवि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण सिं राना मगर, प्रमुख प्रशासकिय अधिकृत वेदहरि अधिकारी लगायतको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा २०८२, साउन देखि २०८३ जेठ १५ गते सम्म सबैभन्दा धेरै दुध उत्पादन गर्ने कृषकहरु अमर बहादुर कुमाल, धन सिं गुरुङ्ग, कृष्ण न्यौपाने, गंज सिं कुमाल र तारनाथ पोख्रेललाई टिका, सम्मान पत्र र दोसल्ला ओढाएर अध्यक्ष पाण्डे सहित उपाध्यक्ष राना मगर र प्रमुख प्रशासकिय अधिकृत अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन र समुदायमा पोषणको सुरक्षा सुनिश्चित गर्न दुग्ध व्यवसायले महत्वपूर्ण भूमिका खेलेको भन्दै पालिकाले यसवर्षबाट उत्कृष्ट दुग्ध उत्पादक कृषकलाई पनि हौसला प्रदान गर्ने उद्येश्यले सम्मान गरेको उल्लेख गर्नुभयो ।
उहाँले आगामि दिनमा यस कार्यक्रमलाई अझ परिस्कृत रुपमा लैजाने गरि योजना बनाउने भन्दै सबै कृषकलाई सम्बोधन गर्ने गरि आगामि निति तथा कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत जनाउनुभयो ।
पालिकाले उत्कृष्ट ५ जना कृषकहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने प्रत्येक कृषकलाई दुधको गुणस्तर नाप्ने उपकरण समेत प्रदान गरेको देउजाले बताउनुभयो ।
कार्यक्रममा उपस्थित सरोकारवाला तथा कृषकहरूले दूध उत्पादनमा आधुनिक प्रविधिको प्रयोग, पशु स्वास्थ्य र दुग्ध क्षेत्रको व्यावसायिक विकासबारे चर्चा गर्नुभएको थियो ।
स्थानीय दुग्ध उत्पादक कृषक, जनप्रतिनिधि तथा पशु सेवा शाखाका कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा एक स्थानीय कृषकले आफ्नो अनुभव र चुनौतीहरूका बारेमा बोल्दै दुध उत्पादक कृषकहरुलाई अझ बढि प्राविधिक सिपका साथै दुधबाट बन्ने अन्य चिजवस्तुहरुवारे समेत प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
विश्वभर जुन १ तारिखका दिन मनाइने यो दिवस नेपालमा पनि विभिन्न चेतनामूलक तथा अन्तक्र्रियात्मक कार्यक्रम सहित कृषकहरू प्रति सम्मान प्रकट गर्दै मनाउने गरिएको छ ।
स्थानीय तहमै पशु सेवा शाखाको सक्रियतामा आयोजना गरिएको यस कार्यक्रमले हुप्सेकोटका स्थानीय दुग्ध व्यवसायी तथा कृषकहरूलाई थप प्रोत्साहित गर्ने विश्वास लिइएको पशु सेवा प्रमुख देउजाको भनाई रहेको छ । कार्यक्रमको पशु सेवा शाखाका पंख बहादुर सहकारीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस