
समाचार कुञ्ज दीपेन्द्र रेग्मी, जेठ २७, कावासोती ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको नवौँ गाउँसभामा अध्यक्ष लक्ष्मि देवि पाण्डेले आज प्रस्तुत गरेको निति तथा कार्यक्रमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, रोजगार तथा सुशासनलाई प्राथमिकतामा राख्दै समृद्धि र आत्मनिर्भरता हासिल गर्ने रणनीति अघि सारेको गाउँपालिका बताउनुभएको छ ।
नीति तथा कार्यक्रममा परम्परागत कृषि प्रणालीलाई आधुनिक तथा व्यवसायिक बनाउने, कफी, अदुवा, बेसार, मह लगायत नगदे बालीको उत्पादन र बजारीकरण विस्तार गर्ने, कृषि एम्बुलेन्स सेवा सञ्चालनको पहल गर्ने तथा कोल्ड स्टोर सञ्चालनमा ल्याउने योजना समावेश गरिएको छ । किसान कल सेन्टरलाई थप सुदृढ बनाइने र उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन गरिने उल्लेख छ ।
पशुपालन क्षेत्रतर्फ निःशुल्क पशु स्वास्थ्य शिविर, दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान, पशु खोप सेवा विस्तार तथा व्यवसायिक पशुपालन प्रवद्र्धनलाई निरन्तरता दिइने भएको छ ।
पर्यटन विकासका लागि रुद्रपुरगढी, धौवादी क्षेत्र र थुम्कीदेवी मन्दिरको संरक्षण तथा प्रचार–प्रसार गरिनेछ भने “भिजिट हुप्सेकोट अभियान” सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धन गरिने नीति लिइएको छ । होमस्टे, इको–भिलेज र पर्यावरणमैत्री पर्यटन पूर्वाधार विकासमा समेत जोड दिइएको छ ।
शिक्षा क्षेत्रमा “पढाइसँगै सीप विकास” कार्यक्रमलाई निरन्तरता दिँदै आगामी तीन वर्षभित्र कक्षा १२ उत्तीर्ण गर्ने प्रत्येक विद्यार्थीलाई कम्तीमा एक सीपमा दक्ष बनाउने लक्ष्य राखिएको छ। विद्यालयमा स्मार्ट कक्षा, डिजिटल सिकाइ प्रणाली, विज्ञान प्रयोगशाला तथा पुस्तकालय विस्तार गरिनेछ। साथै हुप्सेकोट प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी सञ्चालनको तयारी गरिएको छ ।
स्वास्थ्यतर्फ निःशुल्क स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक लक्षित “सञ्चै हुनुहुन्छ ?” कार्यक्रम, निरोगी हुप्सेकोट अभियान, पोषणमैत्री कार्यक्रम तथा देउराली प्राथमिक अस्पतालमा विशेषज्ञसहित सेवा विस्तार गरिने उल्लेख गरिएको छ । सर्पदंश उपचार सेवासमेत व्यवस्थित बनाइने नीति लिइएको छ ।
खानेपानी क्षेत्रमा “एक घर–एक धारा” अभियानलाई प्रभावकारी बनाउँदै सुरक्षित खानेपानी सेवा विस्तार गरिनेछ भने फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाइ अभियानलाई पनि निरन्तरता दिइने भएको छ ।
रोजगारी तथा उद्यमशीलता विकासका लागि “मिसन रोजगारी” अभियान सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार युवालाई सीपमूलक तालिम, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, एआई तथा अनलाइन फ्रीलान्सिङसम्बन्धी तालिम प्रदान गरिनेछ। उद्यम विकास कोष स्थापना गरी युवा उद्यमीलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराइने कार्यक्रम पनि समावेश गरिएको छ ।
पूर्वाधारतर्फ हुप्सेकोट चक्रपथ, आलोक चक्रपथ, बन्दरी सडक, पोखरी–रुद्रपुर सडक तथा गरिमाचोक–मौलाथर सडकलाई उच्च प्राथमिकता दिइएको छ। बजार क्षेत्र र सार्वजनिक स्थानमा सिसिटिभी तथा सडक बत्ती विस्तार गरिनेछ ।
गाउँपालिकाले राजस्व प्रणालीलाई डिजिटल बनाउने, क्यूआर कोडमार्फत कर भुक्तानीलाई प्रोत्साहन गर्ने तथा विद्युतीय सुशासनलाई विस्तार गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।
गाउँपालिकाले प्रस्तुत नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउँदै आत्मनिर्भर, समृद्ध र उद्यमशील हुप्सेकोट निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस