३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपलब्धि चुम्नेहरू

  • समर रानाभाट
  • ९ महिना अघि
  • पाठक संख्या १८६

  • काठमाडौं । एसियाली महिला फुटबलका लागि यसपल्ट एउटा नयाँ प्रतियोगिता आयोजना भएको छ । यो हो, एएफसी वुमेन्स च्याम्पियन्स लिग । एसियाली फुटबल महासंघ (एएफसी) ले महिला फुटबलका लागि पछिल्लो समय कुनै एउटा राम्रो काम गरेको छ भने यसलाई माने हुन्छ ।

    फुटबलको विकासका लागि राष्ट्रिय टिमको प्रतियोगिताले मात्र पुग्दैन । क्लब प्रतियोगिता पनि चाहिन्छ । त्यो पनि उम्दा खाले । विश्वास गरौं, वुमेन्स च्याम्पियन्स लिग यस्तै प्रतियोगिता हुनेछ ।

    नेपाली महिला फुटबलका लागि यो प्रतियोगिता आयोजना हुनु असाध्यै खुसीको समाचार हो । अब नेपाली क्लबले महिला फुटबलमा घरेलु प्रतियोगितामै मात्रै अल्झेर बस्नुपर्ने छैन । प्रतियोगिताको प्रारम्भिक चरणको खेल भइसकेको छ । त्यसमा नेपालका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिनिधित्व गरेर खेलेको थियो । यसैक्रममा अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालका लागि पहिलो सबैखाले उपलब्धि चुम्ने खेलाडी र टिम को-को त भनेर मज्जाको तथ्यांक तयार पार्न सकिन्छ ।

    यसै साता दुई महत्त्वपूर्ण तथ्यांक तयार भयो । पहिलो थियो, नेपालका लागि यो ऐतिहासिक प्रतियोगिता खेल्ने पहिलो टिम बन्यो एपिएफ । समूह ‘सी’ मा परेको एपिएफले दुई खेल खेल्यो, तर एउटै जित निकाल्न सकेन । एउटा हार र एउटा बराबरी रह्यो । गोल पनि गर्न सकेन । डेब्युको कीर्तिमान बन्यो ।

    तर, निराश हुनुपर्ने स्थिति पनि छैन । नेपालकी खेलाडीले यो प्रतियोगितामा गोलको उपलब्धि चुमेको थियो । उनी थिइन्, रेखा पौडेल ।

    युएईको अबुधाबी काउन्ट्री क्लबका लागि रेखाले वुमेन्स च्याम्पियन्स लिगमा गोल गरिन् । यसक्रममा उनी यो प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । महिला फुटबलका लागि क्लब प्रतियोगिताको इतिहास सुरु भएको छ, त्यसैले यो छोटो भयो ।

    यस्तै कीर्तिमान नेपाली राष्ट्रिय टिमका लागि नि ? यसका खास इतिहास यस्तो छ । नेपालले सबैभन्दा अन्तर्राष्ट्रिय फुटबल खेलेको भनेको सन् १९८६ भयो । प्रतियोगिता थियो एएफसी वुमेन्स च्याम्पियनसिप ।पहिलो कप्तान थिइन्, रमा सिंह । पहिलो प्रशिक्षक खेम गुरुङ अनि पहिलो प्रतिद्वन्द्वी थियो हङकङ ।

    नेपालका लागि पहिलो गोल गर्ने खेलाडी हुन्, पेमा डोल्मा लामा । उनले यही एएफसी वुमेन्स च्याम्पियनसिपमा गोल गरेकी हुन् । वर्ष थियो सन् १९९९ । विपक्षी टिम थियो, उज्वेकिस्तान । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पराजित गरेको पहिलो प्रतिद्वन्द्वी टिम हो, बंगलादेश । यो अवसर जुरेको थियो, सन् २०१० को ११औं ढाका दक्षिण एसियाली खेलकुदमा ।

    पहिलो ह्याट्रिक गर्ने खेलाडी जमुना गुरुङ थिइन् । उनले त्यही दक्षिण एसियाली खेलकुदमा श्रीलंकाविरुद्ध यो उपलब्धि चुमेकी हुन् । नेपाल पहिलो पटक फाइनल पुगेको प्रतियोगिता यही रह्यो ।

    त्यसपछि भने नेपालले एकपछि अर्को गरेर शृंखलाबद्ध रूपमा फाइनल खेलेको छ, तर जित्न भने सकेको छैन । अब नेपाली फुटबलको प्रतीक्षा भनेको यही पहिलो उपाधिको हो । प्रतीक्षा गरेको पनि लामै समय भइसक्यो । विश्वास गरौं, यो अब चाँडै आउनेछ ।खेलाडी डट कम बाट