२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

दक्षिण कोरियामा जहाज दुर्घटना: धावनमार्गमा यसरी चिप्लिएको थियो जहाज (भिडिओ)

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या ३३२

  • काठमांडौ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।

    दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको छ । दुई जनालाई भने जिवितै उद्धार गरिएको छ भने १८१ जना सवार जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ।

    जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो। १७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। विमान दुर्घटनाको भिडिओ फुटेजहरू पनि विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको छ। जसमा जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको देखिन्छ।

    ल्याण्डिङको समयमा जहाजको चक्का बाहिर ननिस्किएको विमानस्थलमा उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भिडिओमा पनि जहाज चक्काबिना धावनमार्गमा चिप्लिएको दृश्य छ। तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो। जहाजबाट दुई यात्रुलाई भने जिवितै बाहिर निकालिएको थियो।

    जहाज पूर्ण रूपमा जलेका कारण दुई यात्रुबाहेक बाँकी सबैको मृत्यु भएको आकलन गरिएको योनहाप न्युजले जनाएको छ। जहाजमा कुन कुन देशका नागरिकहरु सवार थिए भन्ने हालसम्म सार्वजनिक भइसकेको छैन ।