२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

एमाले जिल्ला कमिटिको बैठक, ७ जना जिल्ला कमिटिमा मनोनित

  • समर रानाभाट
  • १ हप्ता अघि
  • पाठक संख्या १३५

  • नेकपा एमाले जिल्ला कमिटि तनहुँको चौंथो पुर्ण बैठक बुधबार पार्ट कार्यालय दमौलीमा सम्पन्न भयो । जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पार्टीको तिन महिने जराकेन्द्रीत अभियान प्रभावकारी रुपमा सम्पन्न भएको निश्कर्ष निकालेको छ । 

    उक्त अभियानको क्रममा पार्टीका ७३ वटा वडा अधिवेशनहरु सम्पन्न भएको, २२ मध्ये १७ वटा जन संगठनको अधिवेशन सम्पन्न भएको तथा २ सय भन्दा बढि टोल कमिटिको अधिवेशन सम्पन्न भएको अध्यक्ष कडेंलले बैठकमा जानकारी गराएका थिए । यसै अवधिमा गत चैत १८ गते दमौलीमा गणतन्त्रको पक्षमा आयोजित जागरण सभा र ¥यालीमा पाँच हजारको संख्यामा पार्टी कार्यकर्ता र समर्थक उपस्थिती भएको अध्यक्ष कडेंलले जानकारी दिए । 

    सबै संगठित सदस्यहरुको २०८२ सालको लेबी यही बैशाख मसान्त भित्रमा पार्टी कार्यालयमा बुझाईसक्ने निर्णय गरेको छ । भदौमा पार्टीको बिधान अधिवेशन हुने भएको कारण त्यस अघि नै लेबी सदस्यता बुझाएर केन्द्रीय संगठन विभागमा सदस्यहरुको अद्यावधिक गरिसक्नुपर्ने भएकोले बैशाख मसान्त भित्रमा लेबी सदस्यता बुझाईसक्ने निर्णय भएको जिल्ला कमिटिका अध्यक्ष कडेंलले बताए । बैठकले मदन–आश्रीत स्मृति दिवसको अवसरमा आगामी जेठ २ र ३ गते पार्टी र जनप्रतिनिधिहरुको बिचमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । 

    यस्तै बैठकले २ वटा निर्वाचन क्षेत्रीय समन्वय कमिटि गठन गरेको छ । क्षेत्र नम्बर १ को संयोजकमा जिल्ला सचिव प्रदिपराज अधिकारी र सह संयोजकमा श्रीराम कार्की र क्षेत्र नम्बर २ को संयोजकमा राजेश्वर ढकाल र सह संयोजकमा खिम कुमाल रहेका छन् । उक्त क्षेत्रीय समन्वय कमिटिको सदस्यहरुमा सम्बन्धित क्षेत्रमा कार्यक्षेत्र रहेका जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका पदाधिकारीहरु र वडा कमिटिका अध्यक्षहरु पदेन सदस्य रहनेछन् । 

    उक्त बैठकले जिल्ला कमिटिमा ७ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा घिरिङ–१ का नरबहादुर थापा, शुक्लागन्डकी–५ का बाबुराम कार्की, भानु–११ का गोविन्द मिश्र, व्यास–३ का अनिल पाण्डे, बन्दिपुर–५ का काशिनाथ भट्टराई, आबुँ–३ का बासुदेव पुडासैनी र नेकपा एस परित्याग गरि एमालेमा फर्किएका भानु–४ का शंकर रानाभाट रहेका छन् । बैठकले जिल्ला कमिटि सदस्यहरुको विभाग, फाँट र वडा इन्चार्जहरुमा कार्यविभाजन गरेको छ । 

    बैठकमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देलले मार्ग निर्देशन मन्तव्य राखेका थिए । बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकारहरु एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, दधिराज सुवेदी र नरेन्द्रराज वाग्ले, प्रदेश कमिटिका सदस्यहरु श्रीप्रसाद श्रेष्ठ, मनुमाया श्रेष्ठ, कमल ढकाल, होमबहादुर थापा, देवु विष्ट लगायतको उपस्थिती रहेको थियो । बैठकमा जिल्ला कमिटिका सदस्यहरुले जरा केन्द्रीत अभियानको बारेमा आफ्नो जिम्मेबारीमा रहेको वडामा भएको गतिविधिको लिखित प्रतिबेदन प्रस्तुत गरेका थिए ।