८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu

चन्द्राले बाटोमै जन्माइन् बच्चा, प्रहरी जवान चन्द्रिकाको किन हुँदै छ प्रशंसा ?

  • समर रानाभाट
  • हिंजो प्रकाशित
  • पाठक संख्या ४२

  • सुदूरपश्चिमका पहाडी जिल्लाका दुर्गम बस्तीका आमाले बाटोमै बच्चा जन्माएको घटना त आम जस्तै हुन्छ । स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा बाटोमै गर्भवतीको मृत्यु भएको, अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको अनि उपचार नपाएरै बिरामीको ज्यान गएका घटना बेलाबेला सार्वजनिक हुन्छन् । 

    मंगलबार भने सुदूरपश्चिमको सुगम जिल्ला कैलालीको गोदावरीकी महिलाले सडकमै शिशुलाई जन्म दिएकी छिन् । कैलाली सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला हो । गोदावरी नगरपालिका– १ मा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी २४ वर्षीय चन्द्रा आचार्यले सडकमै शिशुलाई जन्म दिएकी हुन् । 

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई आएको थियो । ‘महिला बिरामी रहेको खबर पाएपछि खैराना प्रहरी चौकीबाट बुझ्नका लागि प्रहरी पठाएको थिएँ,’ डीएसपी चन्दले भने, ‘त्यहाँ प्रहरी पुग्दा व्यथा लागेको अवस्थामा महिला भेटिएकी थिइन् । महिला प्रहरी कर्मचारीले सहयोग गरेपछि ती महिलाले बाटोमै छोरालाई जन्म दिएकी छिन् ।’

    प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा चन्द्राले शिशुलाई जन्म दिएकी हुन् । अहिले उनलाई उपचारका लागि पदमा अस्पतालमा राखिएको छ । चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् । अहिले सामाजिक सञ्जालमा घटनाको भिडियो पनि 'भाइरल' बनिरहेको छ । स्याहार गरेर सहयोग गरेको भन्दै जवान देउवाको पनि प्रशंसा भइरहेको छ ।