आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

बौदीकालीमा भव्य ‘STEAM – स्टीम’ प्रदर्शनी तथा १५७ विद्यार्थी र शिक्षक सम्मानित


  • समाचार कुञ्ज
  • २०८२ पौष ५, शनिबार मा प्रकाशित ३ महिना अघि
  • १८ पाठक संख्या
  • डेढगाउँ, नवलपरासी (पूर्व)
    २०८२ पुस ४ गते, शुक्रबार

    नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिकामा शुक्रबार एक भव्य ‘स्टीम’ (STEAM – Science, Technology, Engineering, Arts and Mathematics) प्रदर्शनी तथा विद्यार्थी–शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । बौदीकाली गाउँपालिकाको आयोजनामा तथा श्री डेढगाउँ माध्यमिक विद्यालय, बौदीकाली–२ को स्थल परिसरमा  कार्यक्रम एक भव्य शैक्षिक मेलाका रूपमा सम्पन्न भएको हो ।

    सिर्जनशीलताको उत्सव: स्टीम प्रदर्शनी
    विद्यार्थीहरूमा रहेको अन्तर्निहित क्षमता, अनुसन्धान र खोजलाई व्यावहारिक प्रयोगमा उतार्ने उद्देश्यले आयोजित ‘स्टीम’ प्रदर्शनीमा पालिकाभित्रका माध्यमिक तहका ८ विद्यालय र आधारभुत तहका २ गरि जम्मा  १० विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । माध्यमिक तहलाई अनिवार्य सहभागिता भनिएको थियो भने आधारभुत तहलाई स्वेच्छिक भननिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितका क्षेत्रमा आफ्ना नवीन रचनाहरू प्रस्तुत गरेका थिए ।

    प्रदर्शनीमा श्री डेढगाउँ माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ। त्यसैगरी, श्री धर्मात्मा माध्यमिक विद्यालय दोस्रो र श्री नगरडाँडा माध्यमिक विद्यालय, व्याघान तेस्रो स्थान हासिल गर्न सफल भएका छन । विद्यार्थीहरूको व्यावहारिक र नवीन प्रयोगले मेलालाई अत्यन्तै भव्य र आकर्षक बनाएको थियो।
    उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
    शैक्षिक गुणस्तर सुधारमा प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले शैक्षिक सत्र २०८१ को अन्तिमका बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई ठूलो संख्यामा सम्मान गरेको छ। कार्यक्रममा कक्षा १२ (SLC), कक्षा १० (SEE), आधारभूत तह (कक्षा ८) र आधारभूत तह कक्षा ५ को योग्यता परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने तथा ३.२ GPA भन्दा माथि ल्याउने ८७ जना विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
    विद्यार्थीका साथै शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्या उने ७० जना शिक्षकहरूलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । आफ्नो अध्यापन गर्ने विषयमा शत प्रतिशत (१००%) विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकहरूलाई सो सम्मान प्रदान गरिएको हो। यसरी जम्मा १५७ जना विद्यार्थी तथा शिक्षकहरू सम्मानित हुनु भएको शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसालले जानकारी दिनु भयो ।
    विशेष संस्थागत सम्मान
    कार्यक्रममा विशिष्ट उपलब्धि हासिल गर्ने विद्यालय र विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो:
    १. SEE परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएकोमा श्री वेल भन्ज्याङ माध्यमिक विद्यालय, बौदीकाली–३ लाई सम्मान गरियो।
    २. प्राविधिक तर्फ कक्षा १२ (SLC) मा शत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा श्री डेढगाउँ माध्यमिक विद्यालयलाई सम्मान गरियो ।
    ३. कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा स्नातक तह (B.Sc. Ag) अध्ययनका लागि प्रवेश परीक्षामा नाम निकाली अध्ययन सुरु गरेका डेढगाउँ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
    बौदीकाली गाउँपालिकाले आयोजना गरेको यो शैक्षिक मेला र त्यसमा प्रस्तुत भएका विद्यार्थीहरुका सृजना, खोज र अनुसन्धानका सामग्री र शिक्षक – विद्यार्थी सम्मान कार्यक्रमले पालिकाको शैक्षिक वातावरणमा नयाँ उत्साह थपेको बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाले बताउनु भयो । उहाँले शैक्षिक रुपान्तरणलाई मुल मुद्धाका रुपमा अगाडी बढाइरहेको बौदीकाली गाउँपालिकाले अबको कार्यदिशा गुणस्तर कायम गर्ने र त्यसलाई निरन्तरता दिने गरी काम थाल्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा सम्पुर्ण वडा अध्यक्ष लगायत जनप्रतिनिधि, गाउँ शिक्षा समिति सदस्य, वि. व्य स पदाधिकारी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बौदीकाली गाउँपालिका सामाजिक विकास समिति संयोजक एवम् २ नम्बर वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ, गाउँ शिक्षा समिति सदस्य श्री चोपीराम राना मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तर्फबाट श्री टोपलाल रुचालले बोल्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट