आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि दुर्घटना विमा कार्यक्रम सञ्चालन


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित २ दिन अघि
  • ३१ पाठक संख्या
  • जेठ १६ ,श्री डेढगाउँ माध्यमिक विद्यालय ले विद्यालयमा अध्ययनरत ४२२ जना विद्यार्थी तथा ३४ जना शिक्षक–कर्मचारीहरूको लागि एक वर्षे दुर्घटना विमा कार्यक्रम सञ्चालन गरेको छ। विद्यालय परिवारको सुरक्षा तथा आकस्मिक दुर्घटनाबाट हुने आर्थिक भार कम गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको विद्यालयले जनाएको छ।

    विद्यालयका अनुसार यस विमा कार्यक्रममा नर्सरीदेखि हाल कक्षा ११ को वार्षिक परीक्षा दिइरहेका सबै विद्यार्थीहरू समावेश गरिएका छन्। साथै आगामी शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीहरूलाई समेत यस कार्यक्रममा समेटिने व्यवस्था गरिएको छ।

    विमा कार्यक्रमका लागि आवश्यक रकम अभिभावक, स्थानीय व्यवसायी, भूपू विद्यार्थी तथा विभिन्न सहयोगी व्यक्तित्वहरूको आर्थिक सहयोगबाट व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ। विद्यालयले समुदायको यस सकारात्मक सहयोगप्रति आभार व्यक्त गरेको छ।

    यस कार्यक्रमअन्तर्गत विद्यालयभित्र वा विद्यालय बाहिर, विदाको दिनसमेत २४सै घण्टा कुनै प्रकारको दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्था आएमा विमा सुविधा उपलब्ध हुनेछ। उपचारका क्रममा न्यूनतम रु. २,५०० भन्दा बढी खर्च भएमा विमा दाबी गर्न सकिनेछ भने अधिकतम रु. १,००,००० सम्मको उपचार खर्च विमा कम्पनीमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

    विद्यालय प्रशासनका अनुसार पछिल्लो समय विद्यार्थी तथा शिक्षकहरूको सुरक्षाप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। दुर्घटना जुनसुकै समयमा र जहाँसुकै हुन सक्ने भएकाले आकस्मिक अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउने माध्यमका रूपमा दुर्घटना विमा अत्यन्त आवश्यक र प्रभावकारी मानिन्छ।

    शैक्षिक संस्थामा अध्ययन तथा अध्यापनसँगै सुरक्षित वातावरण निर्माण गर्नु विद्यालयको दायित्व भएको उल्लेख गर्दै विद्यालयले यो कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीमा थप आत्मविश्वास र सुरक्षा अनुभूति दिलाउने विश्वास व्यक्त गरेको छ। समुदायको सहकार्य र सहयोगबाट सञ्चालन गरिएको यस्तो कार्यक्रम अन्य विद्यालयका लागि समेत उदाहरणीय बन्न सक्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट