
समाचार कुञ्ज






निराज रानाभाट, चितवन । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव २०८३’ आयोजना गर्ने निर्णय गरेको छ । चितवन जिल्ला शाखाको बैठकले महोत्सवलाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यसहित चितवन जिल्ला शाखाका अध्यक्ष एकराज
बुर्लाकोटीलाई महोत्सव मूल संयोजकको जिम्मेवारी प्रदान गरेको छ । बैठकले महोत्सव सफल पार्न ९ सदस्यीय स्टेरिङ समिति समेत गठन गरेको छ । यस्तै, समितिको संयोजकमा एकराज बुर्लाकोटी रहेका छन्, भने सदस्यहरूमा संस्थाका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय अध्यक्ष अन्जन दवाडी, रक्तभियन्ता राजेन्द्र प्रसाद पौडेल, मनरुपा पौडेल, बालचन्द्र पोखरेल, नारायण शर्मा, रामचन्द्र लम्साल र राज सिल्वाल रहेका छन् ।
रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने, नयाँ रक्तदाता उत्पादन गर्ने तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्ने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको सोसाइटीले जनाएको छ । रक्तदानमार्फत बिरामीहरूको जीवन रक्षामा योगदान पुर्याउने तथा युवापुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने लक्ष्यसहित महोत्सवको दोस्रो संस्करण आयोजना गर्न लागिएको बैठकको निष्कर्ष रहेको छ ।
उक्त ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ विश्व रक्तदाता दिवसको अवसर पारेर जेठ ३० गते, चितवनको भरततपुर महानगरपालिका -१०, दुरसंचार रोडस्थित चिततवन उद्योग संघमा आयोजना गरिने भएको छ । उक्त महोत्सवमा रक्तदाताहरूको उत्साहजनक सहभागिता गराउन विभिन्न आकर्षक उपहार सामग्रीहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै, सहभागी रक्तदाताहरूलाई गोलाप्रथामार्फत विशेष उपहार प्रदान गरिने कार्यक्रम समेत तय गरिएको छ । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले सम्पूर्ण रक्तदाताहरु, सामाजिक अभियन्ताहरु, युवाहरु तथा सर्वसाधारणहरुलाई महोत्सवमा सहभागी भई मानव सेवाको महान अभियानमा साथ दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस