आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

देवचुली–३ मा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित २ दिन अघि
  • १७ पाठक संख्या
  • देवचुली । देवचुली नगरपालिका वडा नम्बर ३ मा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका–३ को आर्थिक सहयोग तथा सर्वोदय समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा सञ्चालन गरिएको सात दिने उद्घोषण तथा भाषणकला तालिम शुक्रबार सम्पन्न भएको हो ।

    स्थानीय आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको तालिम समापन कार्यक्रममा बोल्दै वडा नं. ३ का वडा सदस्य भरत थापाले तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रभावकारी सञ्चार सीप विकासका लागि यस्ता तालिम महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

    सर्वोदय समावेशी अक्षर र अनुसन्धान संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढाएको, मञ्च सञ्चालन तथा प्रभावकारी प्रस्तुतीकरण सम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको बताउनुभयो ।

    सात दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषण कला, प्रभावकारी भाषण शैली, प्रस्तुतीकरण सीप, सञ्चार कला, नेतृत्व विकास तथा सार्वजनिक कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिमलाई पत्रकार राजु चापागाई, ज्ञानु पंगेनी र किरण भुर्तेलले सहजीकरण गर्नुभएको थियो । तालिम अवधिभर सहभागीहरूले विभिन्न अभ्यास तथा प्रस्तुतीकरणमार्फत आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए।

    समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक संस्थाले तालिमबाट प्राप्त ज्ञान र सीपले सहभागीहरूलाई सामाजिक, शैक्षिक तथा सार्वजनिक गतिविधिहरूमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति रहेको थियो। तालिम सफलतापूर्वक सम्पन्न भएसँगै सहभागीहरूले आगामी दिनमा समुदायस्तरका विभिन्न कार्यक्रम तथा गतिविधिहरूमा सिकेका सीपको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट