
समाचार कुञ्ज नवलपुर। “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने मूल नारासहित बौदीकाली गाउँपालिकामा विश्व दुग्ध दिवस मनाइएको छ।






अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडको परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आर्थिक सशक्तीकरणका लागि सञ्चालन गरिएका कार्यक्रम र उपलब्धिबारे जानकारी गराएको थियो।
गाउँपालिकाले पशुपालन व्यवसाय विस्तारका लागि सहुलियत कृषि ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममा ऋणको ९० प्रतिशत ब्याज गाउँपालिकाले व्यहोर्ने र कृषकले १० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था रहेको छ।
अकला दुग्ध उत्पादक कृषि सहकारी संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत किसानलाई प्रतिलिटर दूधमा ७ रुपैयाँ ५० पैसा र सहकारीलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा सहयोग उपलब्ध गराइँदै आएको गाउँपालिका अध्यक्ष प्रकास ओझाले बताउनुभयो।
पशुपालक किसानलाई गोठमै पुगेर प्राविधिक सेवा, पशु स्वास्थ्य शिविर, क्षमता अभिवृद्धि तालिम, घाँसका बीउ तथा बिरुवा वितरण, गोठ तथा भकारो सुधारलगायत कार्यक्रम सञ्चालन गरिएको छ। दूधको गुणस्तर सुनिश्चित गर्न मिल्क एनालाइजर, चिलिङ भ्याट, रेफ्रिजेरेटर तथा मूल्य अभिवृद्धिसम्बन्धी उपकरण उपलब्ध गराइएको छ भने दूध ढुवानीका लागि लागत साझेदारीमा मोटरसाइकल समेत वितरण गरिएको छ।
कार्यक्रममा वर्षभरि सबैभन्दा बढी दूध बिक्री गर्ने किसान गुरुदत्त पाठक, नारायणप्रसाद ढकाल र मोहोनीलाल न्यौपानेलाई सम्मान गरिएको थियो। साथै नियमित रूपमा दूध बिक्री गर्ने किसानलाई मिल्क क्यान वितरण गरिएको थियो।
गाउँपालिकाले किसानमैत्री नीति, उत्पादनमा आधारित अनुदान, सहुलियत ऋण, प्राविधिक सेवा तथा पूर्वाधार विकासका कार्यक्रममार्फत दुग्ध उत्पादनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। दुग्ध क्षेत्रको विकासले किसानको आयआर्जन वृद्धि, पोषण सुरक्षा प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस