आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ शुरु


  • समाचार कुञ्ज
  • २०८२ चैत्र ६, शुक्रबार मा प्रकाशित ४ हफ्ता अघि
  • ४६ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्य तथा ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा बिहीबारदेखि ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ शुरु भएको छ । उक्त एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा बी वाई डी इभी कार स्टल १ वटा सहित गरी जम्मा ८३ वटा स्टल रहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । त्यसैगरी, उक्त एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर / आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत विउविजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन एवं खरिद गर्न पाउनुको साथै पुष्प व्यवसाय शुरु गर्न चाहनेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श लिन सकिन्छ । साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ताहरु, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको छ ।

    यस्तै, उक्त एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू र विभिन्न संघ / संस्थाहरूको सहभागिता रहेको छ । उक्त एक्स्पोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोटबिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, थोपा सिचाईं प्रबिधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमलाहरू, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । साथै, फूल तथा बोटबिरुवाहरूमा लाग्ने रोग किराहरू तथा बिरुवाको स्वास्थ्यता प्रशिक्षण सम्बन्धमा जिज्ञासा भएमा सोको समाधानका बालि रोग विशेषज्ञहरूसहितको टिमद्वारा एकस्पो स्थलमा ‘ प्लान्ट क्लिनिक ’ स्टलबाट सेवा उपलब्ध गराइएको छ ।

    उक्त एक्स्पोमा पुष्प उद्यमी / व्यवसायी / कम्पनीहरूको लागि आफूले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, आफ्नो उत्पादन बिक्री / वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरूबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, विश्व बजारमा विकास भएका पुष्पको नयाँ – नयाँ उत्पादनहरूलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरूसँग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर हुने छ । साथै, पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रविधिबारे प्रचारप्रसार गर्न सघाउ पुग्ने छ । पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरू सबैका लागि यो एक्स्पो बृहत् साझा मञ्च हुने आयोजकले विश्वास लिएका छ । यसका साथ साथै घर आँगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ / संस्थाहरूका लागि ‘ २७ औँ फ्लोरा एक्स्पो ’ एक प्लेटफर्म बन्ने र महत्वपूर्ण सहयोग पुऱ्याउने छ भन्ने अपेक्षा आयोजकको रहेको छ । फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट