
समाचार कुञ्ज समता आमा समूह, भिमाद नगरपालिका–३ जलौदीद्वारा आयोजित नव वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नव वर्षको सुरुवातसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै सामुदायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहकी सचिव मिनु मल्लले जानकारी दिइन्।
समूहकी अध्यक्ष याम मायाँ थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदम सेन ठकुरीले आमा समूहहरू एकीकृत भई समाज विकासमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले समता आमा समूह भिमाद–३ लाई उदाहरणीय समूहको रूपमा उल्लेख गर्दै सामाजिक काममा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे।
साथै उनै छिटै नै आमा समूहको निर्माणाधीन अवस्थामा रहेको भवनलाई सम्पन्न गर्न विशेष पहल गर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष याम मायाँ थापाले आमा समूहले सामाजिक एकता, परम्परा संरक्षण र सहयोगको भावना विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त अवसरमा ९ जना ज्येष्ठ नागरिकलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरिएको अध्यक्ष थापाले जानकारी दिइन्। कार्यक्रममा सहभागीहरूबीच आपसी सद्भाव र उत्साह बढाउन कुर्ची घुमाउने, डोरी तान्ने लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस