
समाचार कुञ्ज देवचुली । देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजना तथा देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली १७ पिप्रहरमा बुधबार देवचुली नगरपालिकाको वडा नं. १६ र १७ को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । नगरपालिकाद्वारा साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको रजहर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८२/०८३ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरिएको हो ।






सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरुले देवचुली नगरपालिकाबाट शिक्षा क्षेत्र तथा नारायणी नदी क्षेत्र किनारमा गरिएको तटबन्ध लगायतका कार्यहरुको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने, स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जवाफ दिनुभएको थियो । त्यसै गरि देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसेले वडाबासीको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।
१ दर्जन भन्दा बढी प्रश्नकर्ताले गरेका सवालको जवाफ दिने क्रममा नगर प्रमुख न्यौपानेले नगरपालिकाले नगरबासीको हितका लागि सदैव काम गरिरहेको बताउनुभयो । नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतासँगै विकास निर्माण कार्य गरिरहेको उहाँले बताउनुभयो । नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो ।
प्रश्नकर्ताले स्वास्थ्य, बिजुली, बाटोघाटो, बिजुलीको पोल स्थानान्तरण, महिला, बालबालिका, फोहोरमैला ब्यवस्थापन, प्राकृतिक विपत्ति बाढी,पहिरो, डुवान,कटानका समस्या लगायतका विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला , वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस