
समाचार कुञ्ज नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ३ इटौरामा रहेको जनता माध्यमिक विद्यालय नन्दभाउजुमा किशोरीहरूका लागि सेनेटरी प्याड व्यवस्थापन तथा महिनावारी स्वास्थ्य सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक चुन कुमारी महतो तथा बालक्लव सम्पर्क शिक्षक गोमा थनेतले गर्नुभएको थियो।






सहजीकरणका क्रममा किशोरीमैत्री शौचालयको सही प्रयोग, महिनावारी भएको समयमा व्यक्तिगत सरसफाइमा ध्यान दिने उपाय, स्यानिटरी प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन, संक्रमणबाट बच्ने तरिका, पोषणयुक्त खानपान र मानसिक स्वास्थ्यका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।अभिमुखीकरण कार्यक्रममा महिनावारी कुनै लाज वा डर मान्नुपर्ने विषय नभई किशोरी जीवनको प्राकृतिक तथा जैविक प्रक्रिया भएको भन्दै सहभागी किशोरीहरूलाई खुला रूपमा आफ्ना जिज्ञासा राख्न प्रोत्साहित गरिएको थियो।
कार्यक्रममा सहभागी छात्राहरूले महिनावारीका समयमा विद्यालयमा हुने चुनौती, सरसफाइ सामग्रीको प्रयोग तथा सुरक्षित व्यवस्थापन सम्बन्धी अनुभव समेत साझा गरेका थिए। सहभागीहरूलाई विद्यालयमा निर्माण गरिएको किशोरीमैत्री शौचालयको नियमित तथा व्यवस्थित प्रयोग गर्न, प्रयोग गरिएका स्यानिटरी प्याडको सुरक्षित विसर्जन गर्न तथा महिनावारीको समयमा पनि नियमित विद्यालय उपस्थित हुन प्रेरित गरिएको थियो।
यस्ता सचेतनामूलक कार्यक्रमले किशोरीहरूको स्वास्थ्य, आत्मविश्वास र विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नेपालमा किशोरीहरूबीच महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन अझै चुनौतीपूर्ण विषय रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्, जसले विद्यालयस्तरमा यस्ता अभिमुखीकरण कार्यक्रमले किशोरीहरुलाई सहज हुने बिधालयको प्रधानाध्यापक महत्तोले बताउनुभयो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत ७१ जना किशोरी छात्राहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस