आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नवलपुरमा पनि घरघरमा राहदानी पुर्याउन सुरु।


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ ७, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • २५ पाठक संख्या
  • जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्‍याउने सेवाको औपचारिक शुभारम्भ गरेको छ।

    मिति २०८३ वैशाख २४ गते जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच सम्पन्न समझदारीपत्र (एमओयू) अनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था लागू गरिएको हो।

    यसैक्रममा बुधबार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी कावासोती–१६ पिप्रेनी निवासी अमित परियारको घरमै पुगेर हस्तान्तरण गरिएको छ। हुलाक अधिकृत ठानेश्वर सापकोटा ले अमित परियारको मञ्जुरीमा उहाँकी आमा विमला परियारलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गर्नुभएको हो।

    राहदानी लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय सेवाग्राही उत्साहित बनेका छन्। जिल्लामा हुलाक सेवामार्फत राहदानी घरमै प्राप्त गर्ने सेवाप्रति आकर्षण बढ्दै गएको जनाइएको छ।

    हुलाक कार्यालयले यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट