
समाचार कुञ्ज प्रिय धन , २१ माघ २०८१ ।
पूर्वी नवलपरासीको मध्यविन्दु ९ बसन्तपुरमा सांस्कृतिक कार्यक्रम संचालन भैरहेको छ l श्री बसन्त आदर्श युवा क्लवको आयोजनामा ४९ औं स्थापना दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ l क्लवका अध्यक्ष कुशल मल्लको अध्यक्षता तथा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम चलिरहेको हो l अहिले यो समाचार तयार पार्दासम्म पनि कार्यक्रम चलिरहेको क्लवले जनाएको छ l नेपाल लोकसेवा माध्यमिक विद्यालय मध्यविन्दु ९ बसन्तपुरको विद्यालय हाताभित्र सो कार्यक्रम संचालन भई रहेको छ l
कार्यक्रममा बोल्नुहुँदै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले ४९ औं वर्षदेखि क्लवले गाउँबासीको आत्मीयता नगुमाएको बताउनुभयो l उहाँले आंफुले जानेदेखि नै बसन्तपुरमा श्री पंचमीको अवसरमा भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिएको थाहा पाएको र अहिले पनि निरन्तर चलेकोमा खुसी व्यक्त गर्नुभयो l अधिकारीले यो कार्यक्रमले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन हुनुका साथै स्थानीय खेलाडीको उत्पादन र बाह्य खेलाडीको खेल हेर्ने अवसर पनि हुने बताउनुभयो l साथै नगर प्रमुख भिमलाल अधिकारीले सांस्कृतिक कार्यक्रमको आयोजनाले संस्कृति संरक्षण हुनुका साथै स्थानीय समुदायको संस्कृति जागरण हुने पनि बताउनुभयो l
कार्यक्रममा मध्यविन्दु ९ का वडा अध्यक्ष मदन कुमाल , ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल , नेपाल लोक सेवा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रायमाझी , सोहि विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारी राजु , लक्ष्मी आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसाल लगायत हजारभन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो l
कार्यक्रममा कलाकार श्याम राना मगर , पवन श्री परियार , रेजिना परियार , दिप काफ्ले लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस