आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कोरला–त्रिवेणी सडक : प्रगति चवन्न प्रतिशत


  • समाचार कुञ्ज
  • २०८१ फागुन २१, बुधबार मा प्रकाशित १२ महिना अघि
  • ४ पाठक संख्या
  • कावासोती। गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा राखेको कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५४ प्रतिशत भएको छ ।  गण्डकी प्रदेशको भारतसँग सीमा जोडिने सो सडक नवलपरासी बर्दघाट (सुस्तापूर्व) नवलपुरको डेढगाउँबाट सुरु हुन्छ । उक्त सडक निर्माणको पहिलो खण्डको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय नवलपुरले जनाएको छ ।झ्यालबास खण्डमा पहिलो चरणमा हाल ३.४ किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । २०७९ वैशाखमा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको सो खण्ड २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण सम्पन्न हुन सकेको छैन । ३२ करोड २० लाख रुपियाँ लागतमा लामा गौरीशङ्कर जेभीले सडक निर्माण गरिरहेको छ । नालासहित कालोपत्रे गर्ने योजनाका साथ काम सुचारु भएको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको छ । नाला निर्माणसँगै ठाउँ ठाउँमा ग्याबिन भर्ने, सडकछेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना पूरा भए पनि काम सम्पन्न नभएकाले म्याद थप गरी काम सम्पन्न गरिने आयोजनाले जनाएको छ ।

    सो सडक नवलपुरको डेढगाउँ बाट रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको कामसमेत अगाडि बढेको छ । डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने बताइएको छ ।

    चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पु¥याउने प्रदेश सकारको लक्ष्य रहेको प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले बताउनुभयो । उहाँका अनुसार दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन ।

    सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वी राजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको सांसद जिसी बताउनुहुन्छ ।नमुना पोष्ट बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट