
समाचार कुञ्ज तनहुँ र नवलपुर जाेड्ने ऋषिङ गाउँपालिका वडा नं ४ मा रहेको गडगडीघाटकाे पुल ९ वर्ष देखि अलपत्र रहेको छ । ३२ करोडकाे लगानीको उक्त पुल लामो समयदेखि अलपत्र हुँदा त्यसभेगका मानिसहरू यातायातकाे सहज सुविधा बाट वञ्चित भएका छन् । संघीय बजेटबाट निर्माण हुने भनिएको कालिगण्डकीमा बन्ने उक्त पक्की पुल ठेकेदारकाे लापरबाहीका कारण लामो समयदेखि अलपत्र परेको त्यसभेगका स्थानीय बताउँछन् । पुल बनाउने ठेकेदार काङ्ग्रेस नेता रमेश लेखक सँग बागी उठ्ने दिपक सिंह भएको समेत बताइएको छ ।उक्त पुल आव ०७३/०७४ मा स्वच्छन्द , नागार्जुन , जेवी कम्पनीले ५ वर्षमा सक्ने गरि ३२ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । ४ वटा पिल्लर र दुईवटा साइट पिल्लर गरि ६ पिल्लर मध्येमा ५ वटा पिल्लर निर्माण गरिसकेको र एउटा पिल्लरकाे जमिन मुनिकाे भागको काम सकेको र माथि पिल्लरकाे काम बाँकी रहेको अवस्थामा पुल अलपत्र रहेको हाे ।
कालिगण्डकी करिडोरकाे गैंडाकोट बुलिङटार खण्डमा निर्माणाधीन उक्त पुल निर्माण हुन लाग्दा त्यहाँका जनता उत्साहित भए पनि अहिले लामो समयदेखि अलपत्र हुँदा निराश भएका छन् ।
उक्त माेटरेवल पुल निर्माण भएको खण्डमा नवलपुरकाे गैंडाकोट , धामबेशी , बुलिङ्गटार हुँदै तनहुँकाे ऋषिङ स्थित मधुवन , रूपटार , पिपलटार, घिरिङ्गकाे मानपुर हुँदै भिमाद , खैरेनीटार लगायतका क्षेत्रमा जानआउन सहज हुने थियो । त्यतिमात्र हाेइन नवलपुर काे उत्तरी भेग र तनहुँकाे दक्षिणी भेगलाइ यसले सुगम बनाउने बताइएको छ । लामो समयदेखि पुल अलपत्र हुँदा भएको असुविधालाई ध्यानमा राखी संघीय , प्रदेश तथा स्थानीय तहका त्यस क्षेत्रका नेताहरू डेलिगेशन ताकेता गरेपछि अहिले पछिल्लो समय पुल निर्माणकाे काम सुरु भएको समाजसेवी स्थानीय माधव गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस