
समाचार कुञ्ज काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नेपाली नागरिक संघसंस्था सहित नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएका छन्। लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहित गर्न जोड दिएका छन्। यसैगरी, गणतन्त्रको कुनै विकल्प नभएको तर यसलाई संस्थागत गर्दै अघि बढाउनु पर्ने बताएका छन्।
धर्नाका क्रममा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको सुरक्षा गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारासहित ०६२/६३ को नागरिक आन्दोलनका अगुवाहरू भेला भएका थिए।
उनीहरूले २०४६ को जनआन्दोलन र २०६२/६३ को नागरिक आन्दोलनको स्मरण गराउँदै लोकतन्त्र र गणतन्त्र बचाउन जस्तोसुकै नागरिक आन्दोलन गर्न पछि नपर्ने उद्घोष गरे।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको हत्या, हिंसा, लुटपाट, आगजनीजस्ता अमानवीय कार्य अराजक समूहबाट भएको भन्दै यसको जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्ने उनीहरूले बताएका छन्। संविधानसभाबाट जनताले संविधान निर्माण गरिसकेको र त्यस अनुसार नै देश सञ्चालन भइरहेको हुँदा नेपालमा कुनै पूर्व राजा वा रजौट नरहेको दाबी गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागरूक र सशक्त भएर लोकतन्त्र तथा गणतन्त्रको पक्षमा उभिन आग्रह गरे।
समाचार संकलन गर्ने पत्रकारलाई थुन्ने, आगो लगाउने जस्ता कार्य दण्डहीनताको चरम रूप भएको भन्दै उनले त्यसको कडा निन्दा गरे। साथै, उक्त घटनाका दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे।
मानवअधिकारकर्मी तथा गैसस महासंघका पूर्व अध्यक्ष गौरी प्रधानले मानव अधिकार हननका गतिविधिहरू निन्दनीय रहेको बताए। उनले भने, “लोकतन्त्रको कुनै विकल्प छैन। नागरिक समाजले अराजकता, उदण्डता र दण्डहीनताको घोर निन्दा गर्दछ। हामी शान्ति, सामाजिक न्याय र सुशासन चाहन्छौं।”
त्यसैगरी, मानवअधिकारकर्मी चरण प्रसाई, सुवोध प्याकुरेल, शुसिल प्याकुरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन, एटविनकी वेनु माया गुरुङ, महिला मानवअधिकार रक्षककी श्याम कुमारी शाह, युवा अभियन्ता नरेन्द्र खतिवडा, काहुराष्टका अध्यक्ष हुकुम पोखरेल, सामाजिक अभियन्ता शुशिल वि.क. लगायतका अगुवाहरूले आ-आफ्ना विचार राख्दै देशभर लोकतन्त्र बलियो बनाउन आह्वान गरे।
गैरसरकारी संस्था महासंघले आजै ७ वटै प्रदेशमा नागरिक धर्ना दिइरहेको जनाएको छ। देशमा अस्थिरता पैदा गरी अवसरको खोजी गर्ने तत्वहरूलाई परास्त गर्न सबै लोकतन्त्र र गणतन्त्र पक्षधर एकजुट हुनुपर्ने उनीहरूको धारणा छ। गणतन्त्रलाई संस्थागत गर्न सामाजिक न्याय, सुशासन, मानव अधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस