
समाचार कुञ्ज
✍️ प्रिय धन, नवलपुर , २७ जेठ २०८२ , मंगलबार ।
तीन दशकभन्दा बढी समयदेखि एउटै पार्टीले जित्दै आएको पाल्पा जिल्लाको आर्यभन्ज्याङ–ताहु–बिरकोट–सिलुवा हुँदै रामपुर जोड्ने ४८ किलोमिटर लामो सडकखण्ड आज पनि पुरानै अवस्थामा छ। त्यहाँ एमाले नेताहरु धेरै छन् ।
स्थानीयले सवारी चलाउनै नसक्ने गरी खाल्डाखुल्डी, हिलो र ढुंगाले भरिएको सडकमा वर्षा लागेपछि झनै समस्या झेल्नुपरेको गुनासो गरिरहेका छन्। यो सडक अहिले पनि सामान्य ग्राभेल समेत नगरी वर्षौंदेखि त्यस्तै छाडिएको छ। जनप्रतिनिधिहरूले चुनावको बेला सपना बाँड्ने तर त्यसपछि सम्पर्कविहीन हुने प्रवृत्तिले नागरिकको मनमा निराशा बढेको छ।
"यति वर्ष एउटै पार्टीले जित्दा पनि सडक जस्ताको तस्तै छ भने अब के विकासको अपेक्षा गर्ने?" एक स्थानीयवासीको गुनासो थियो।
सडकले ताहु, बिरकोट, सिलुवा लगायतका दर्जनौं बस्तीलाई रामपुरसँग जोड्दछ। यस सडकखण्डको विकासले शिक्षा, स्वास्थ्य र व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो। तर अहिलेसम्म उचित बजेट विनियोजन नहुनु, अनुगमन नहुनु र इच्छाशक्ति कमजोर हुनु नै मुख्य कारण देखिएको छ।
स्थानीय सरकार तथा संघीय स्तरका सांसदहरूले सडक सुधारतर्फ गम्भीर ध्यान नदिए जिल्लाको समग्र विकास अवरुद्ध हुने स्थानीयको भनाइ छ। तीन दशकसम्म एउटै पार्टीले राज गरेपछि अब विकल्प खोज्ने बेला आएको आवाज गाउँघरमा चर्किँदै गएको छ।
( तस्वीर : साभार )

प्रतिक्रिया दिनुहोस