आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

विराट वनद्धारा जीविकोपार्जनमा सहयोग गर्न बाख्रा–बङ्गुरका पाठापाठी र पाडी वितरण


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ८, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • ज्ञानु पंगेनी , असार ८ गते । 

    गरिब तथा विपन्न उपभोक्ताको जीविकोपार्जनमा सहयोग गर्नका लागि नवलपुरको  हुप्सेकोट गाउँपालिका तीनमा रहेको विराट सामुदायिक वनले आइतबार बाख्राको पाठी, बङ्गुरको पाठापाठी र थोरे भैँसी पाडी वितरण गरेको छ ।
    एक कार्यक्रमका बिच डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीलेले लाभग्राही उपभोक्तालाई बाख्रा र बङ्गुरका पाठापाठी र भैँसीको पाडी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले सामुदायिक वन भनेको सेवा मूलक संस्था भएका हुँदा सामुदायिक वनबाट भएको आम्दानीको ६० प्रतिशत महिलाको क्षमता विकास तथा विपन्न, गरिब उपभोक्ताको जीवनस्तर उकास्ने र सामाजिक काममा खर्च गर्नुपर्ने प्रावधान रहेको र सोही अनुसार वनहरूले आफ्नो वार्षिक कार्य योजना  बनाउनुपर्ने बताउनुभयो  ।  गण्डकी प्रदेशको वन ऐन बने पनि कार्यविधि नबन्दा रोकिएको काम अब भने गर्न सकिने वातावरण बनेको उहाँले बताउनुभयो ।  जेठको २२  गते कार्यविधि  पास भइसकेको हुँदा अब वन संम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनको कार्य योजना अनुसार यहाँका वनहरूले काम गर्न सक्ने बताउनुभयो । अब आउने साउन देखी नयाँ कार्य योजना अनुसार वनहरूले काम गर्न सक्ने उहाँले बताउनुभयो । कार्य योजना बनाउनका लागि जिल्लामा ६४ लाख रुपियाँ आउने जानकारी पाएकोले त्यस रकमले केही न केही सहयोग पुग्ने बताउनुभयो । जिल्लाका ४३ वटा सामुदायिक वनको म्याद सकिएकोले अब वनहरूले नयाँ कार्यविधि अनुसार आफ्ना कार्ययोजनाहरु बनाउन सक्ने बताउनुभयो । 
    विराट सामुदायिक वनका सचिव ईश्वरी प्रसाद रेग्मीले ३० हजार रुपियाँ बराबरको १५ जना उपभोक्तालाई एउटाका दरले थोरे पाडी , १२ हजार रुपियाँ बराबरको २५ जना उपभोक्तालाई दुई वटाका दरले बाख्राको पाठी र १२ हजार रुपियाँ बराबरकै २६ जना उपभोक्तालाई दुई वटाका दरले बङ्गुरको पाठापाठी गरी कूल १० लाख ६२ हजार रुपियाँ बराबरको वितरण गरिएको  जानकारी दिनुभयो  ।
    कार्यक्रमका संयोजक तथा वनका सल्लाहकार समिति संयोजक तारा बहादुर कार्कीले सामुदायिक वनले गरेको सम्पन्नता स्तरीकरण र विगतमा प्राप्त गरेका सेवा सुविधालाई आधार मानेर लाभग्राही उपभोक्ता छनौट गरिएको बताउनुभयो । सामुदायिक वनले विगतमा पनि यस किसिमको कार्यक्रम गर्दै आएको र यस बाहेक कृषि पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने , बाद्यबादनका सामग्री वितरण गर्ने , शैक्षिक सामग्री  वितरण गर्ने कार्यक्रम समेत गर्दै आएको जानकारी दिनुभयो ।
    कार्यक्रममा बोल्दै वनका अध्यक्ष प्रेम बहादुर कार्कीले छनौट समितिले उपभोक्तालाई नै सोधेर के पाल्ने इच्छा राख्न्छन् सोही अनुसारकै बस्तुभाउ वितरण गरिएको बताउनुभयो ।  उहाँले लाभग्राही उपभोक्तालाई पाएका बस्तुभाउको उचित रूपमा स्याहार सुसार गरेर आम्दानी गर्ने बाटोमा लाग्न अनुरोध समेत गर्नुभयो । 
    आयआर्जनमा टेवा पु¥याउनका लागि वनले गरेको कामले उपभोक्ताहरू पनि खुसी भएका छन् । लाभग्राही सुनिता विकले बाख्राको पाठापाठी पाएपछि खुसी हुँदै  राम्रोसँग स्याहार सुसार गर्ने र भोलीका दिनमा आयआर्जन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।  आफैँ पैसा हालेर किन्न नसक्ने आफूजस्ता उपभोक्ताका लागि  यस प्रकारको सहयोगले पनि ठूलो मदत पुग्ने बताउनुभयो । 
    वनले पनि यसरी सहयोग गर्छ भन्ने नसोच्नुभएको बम बहादुर कुमाल थोरे पाडी पाउँदा मक्ख हुनुहुन्थ्यो । उहाँले आफूले पाएको पाडीलाई राम्रोसँग हुर्काउने र दुई वर्षभित्र आम्दानी लिने बताउनुभयो । 
    कार्यक्रममा हुप्सेकोट गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता रेवती सारू , वनका अनुगमन समितिका सदस्य शोभाकान्त लामिछाने ,  लेखा समिति संयोजक गुरु प्रसाद सुवेदी  लगायतले बोल्दै वनले  विपन्न उपभोक्ताहरूको जीविकोपार्जनमा गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँहरूले पाएका वस्तु भाउको संरक्षण भएको छ की छैन त्यसले उपभोक्ताको जीवनस्तरमा के कस्तो परिवर्तन  ल्यायो भन्ने कुराको लेखाजोखा  राख्नका लागि पनि अनुरोध गर्नुभयो । लाभग्राही उपभोक्ताहरूलाई अनुरोध गर्दै पाएका बस्तुभाउको  रेखदेख  गरी  आर्थिक रूपमा माथि उठ्ने काम गर्न सकेमा मात्रै यस कार्यक्रम सफल  हुने र आगामी दिनमा अन्य उपभोक्ताहरूले पनि यस्ता कार्यक्रममा सहभागी हुन पाउने  बताउनुभएको थियो । 
    वनका अध्यक्ष प्रेम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वनका उपाध्यक्ष उषा खाड ठकुरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने , सचिव इश्वरी रेग्मीले सहजीकरण  गर्नुभएको थियो । 
    कार्यक्रममा वनका कार्यसमिति सदस्यहरु , सल्लाहकार समिति सदस्यहरु , अनुगमन समिति सदस्यहरु , खरीद बिक्री समिसतका सदस्यहरु त्था विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट