
समाचार कुञ्ज ज्ञानु पंगेनी , असार १८ गते ।
कावासोती वडा नम्बर तीनले विषादी छर्कने स्प्रे टङ्की हस्तान्तरण गरेको छ ।
आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्प्रे टङ्की हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले स्प्रे टङ्की हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले स्प्रे टङ्की प्राप्त गरे पनि विषादीको प्रयोग कम गर्न र सकेसम्म जैविक विषादी प्रयोग गर्न अनुरोध गर्नुभयो । घरमा लगाइएको तरकारी फलफूलमा प्रयोग गर्दा घरमै जैविक विषादी बनाएर प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष डोरमान गिरीले वडाभित्र रहेका नौ वटा टोल विकास संस्थालाई दुई वटाका दरले स्प्रे टङ्की हस्तान्तरण गरिएको बताउनुभयो । टोल विकास संस्था मार्फत टोलका बासिन्दाले आफ्नो आवश्यकतामा उक्त स्प्रे टङ्की प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले उपलब्ध भएको स्प्रे टङ्की सुरक्षित तवरले प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्प्रे टङ्की कसरी प्रयोग गर्ने भन्ने बारेमा व्यवसायीको तर्फबाट जानकारी समेत प्रदान गरिएको थियो । उक्त स्प्रे टङ्की टुइन वन रहेको सो क्रममा जानकारी दिइएको थियो । चार्ज गरेर प्रयोग गर्न सकिने र चार्ज नहुँदा समेत हातैको माध्यमबाट पनि प्रयोग गर्न सकिने खालको रहेको जनाइएको छ ।
कार्यक्रममा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि , वडा सदस्यहरू ऋषि बस्ताकोटी , रन बहादुर थापा , सावित्री रसाइली , बसन्ती कुँवर केसी तथा स्थानीय समाजसेवी , कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण वडा सचिव रेनुका चालिसेले गर्नुभएको थियो ।
वडा अध्यक्ष डोरमान गिरीको अध्यक्षता तथा उपप्रमुख फूल कुमारी थनेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस