
समाचार कुञ्ज दुम्किबास, नवलपुर —[ बसन्त न्यौपाने]
नवलपुरको दुम्किबासस्थित विनयी खोलामा निर्माण सम्पन्न भई केही समयअघि सञ्चालनमा आएको पुलले अहिले यात्रुहरूलाई ठूलो सहजता पुर्याएको छ। लामो समयदेखि जोखिमपूर्ण अवस्थामा रहेको उक्त स्थानमा पुल निर्माण भएपछि अब आवतजावत सहज र सुरक्षित बनेको छ।
यसअघि यात्रुहरू वर्षायाममा खोलाको बहावका कारण आवतजावतमा ठूलो कठिनाइ भोग्न बाध्य थिए। स्थानीय बासिन्दा, विद्यार्थी, वृद्धवृद्धा तथा सवारी साधन चालकहरूका लागि खोलाबाट पार गर्नु निकै जोखिमपूर्ण थियो। तर अब उक्त समस्या समाधान भएको छ।
स्थानियवासीले पुल निर्माण भएपछि राहत महशुस गरेका छन्। "अब बिहान बेलुका जतिबेला पनि सजिलै यात्रागर्न सकिन्छ, पहिला त खोला बढेपछि काममा जानै सकिन्नथ्यो", दुम्किबासका एक स्थानीय कृष्ण पौडेलले बताए।
पुल निर्माणले क्षेत्रको आर्थिक, सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यात्रुहरू मात्र होइन, मालबाहक सवारी साधनहरूका लागि पनि यो पुल महत्त्वपूर्ण बन्नेछ।
स्थानीय तह र सडक विभागको समन्वयमा निर्माण सम्पन्न गरिएको उक्त पुल अब दुम्किबास क्षेत्रको विकासको ढोका खुलाउने एक महत्वपूर्ण संरचना बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस