आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

जनै पूर्णिमामा पनि डोकोको भार—६५ वर्षीय नन्दु गाहाको जीवनसंघर्ष


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २४, शनिबार मा प्रकाशित ६ महिना अघि
  • १० पाठक संख्या
  • प्रिय धन, नवलपुर

    साउन २४ गते शनिबार, जनै पूर्णिमाको दिन। धेरैका घरमा किनमेलको चहलपहल बढिरहेको बेला नवलपुरको हुप्सेकोट गाउँपालिका–४ चारघरेका ६५ वर्षीय नन्दु गाहा मगर भने बिहानै डोकोमा फलफूल बोकेर गाउँतिर निस्किनु भएको थियो। भुइँकटहर, तरुल, चक्रे गाभा, केरा—यस्ता मौसमी फलफूलहरू उहाँकै आँगनमा वा गाउँ वरिपरिकै बारीमा फलाएका। ती फलफूल धान वा पैसासँग साटेर उहाँको जीविकोपार्जन चल्छ।

    चार भाइ छोरा—चारैजना विदेश

    उहाँका चारजना छोराहरू विदेशमा श्रम गरिरहेका छन्। तर नन्दु गाहाको दिनचर्या भने गाउँमै पसिना बगाउँदै बित्छ। बिहानै घरबाट चार-पाँच किलोमिटरको बाटो डोकोमा भारी बोकेर पार गर्नुहुन्छ। गन्तव्य प्रायः झ्यालबास, बेलाहानी, गिरुबारी, बसन्तपुर जस्ता बस्तीहरू हुन्छन्, जहाँ उहाँका स्थायी ग्राहक छन्।

    जीवनमा १७ वर्षदेखि एक्लोपना

    १७ वर्षअघि श्रीमतीको निधन भएपछि उहाँले जीवनको कठिन यात्रा एक्लै तय गर्दै आउनुभएको छ। छोराहरू विदेशमा भए पनि उहाँले आफ्नो जीवन आफैं चलाउने अठोट छोड्नुभएको छैन। वर्षात होस् वा चैतको धुलो, जाडोको हिउँ वा गर्मीको घाम—डोको बोकेर फलफूल बेच्ने यो यात्रामा उहाँ कहिल्यै पछि पर्नु भएको छैन।

    भारी मात्र होइन, आत्मसम्मानको बोझ पनि

    उहाँलाई यो पेशा कुनै बाध्यता मात्र होइन, आत्मसम्मानको बाटो पनि हो। “आफ्नो मेहनतले कमाएको फल खानु नै साँचो खुशी हो,” भन्ने उहाँको भनाइमा आत्मनिर्भरताको दृढ विश्वास झल्किन्छ। फलफूलका साथ डोकोमा उहाँ आफ्नो जीवनको अनुभव, पसिना र संघर्ष पनि बोकेर हिँड्नुहुन्छ।

    जनै पूर्णिमाजस्तो पर्वमा पनि आफ्नै बगैँचाको फलफूल गाउँघरमा पुर्याउँदै हिँड्ने नन्दु गाहा मगरजस्ता मानिसहरू गाउँको वास्तविक श्रमजीवी अनुहार हुन्। उनीहरूकै पसिनाले गाउँको बजार तात्छ, र उनीहरूकै मेहनतले हाम्रो थालीमा ताजा स्वाद आउँछ। पर्वका रौनकमा पनि डोकोको भार बोक्दै जीवनलाई मुस्कानका साथ अघि बढाउने नन्दु गाहाको संघर्ष हरेक पुस्ताका लागि प्रेरणादायी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट