
समाचार कुञ्ज दमौली २७ ,साउन ।
तनहुँको भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ ।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि गृह र अर्थमन्त्रालयले स्वीकृती दिई सकेको छ । मन्त्रिपरिषदको निर्णयसँगै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि बाटो खुल्ने भएको छ । सो विषयको खुलासा नेपाली कांग्रेस तनहुँका सभापति एवं गण्डकी प्रदेश सांसद जीतप्रकाश आलेले गरेका हुन् ।भिमादमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै नागरिकता ,राहदानी लगायत जिल्ला प्रशासन कार्यालयबाट हुने कामका लागि त्यस क्षेत्रका स्थानीयहरु सदरमुकाम सम्म आउने बाध्यता अन्त्य हुने भएको छ ।
यसअघि तनहुँको क्षेत्र नं २ मा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सांसद शंकर भण्डारी सहितको टोलीले सरकारको ध्यानाकर्षण गराएको थियो ।सांसद भण्डारी सहितको टोलीले ध्यानाकर्षण गराएसँगै सरकारले क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पाएपछि स्थानीय बासिन्दाहरु निकै खुसी हुन पुगेका छन् ।भिमादमा इलाका प्रशासन कार्यालय स्थापना हुनु यस क्षेत्रका सर्वसाधारणका लागि अत्यन्त खुसीको विषय भएको प्रदेश सांसद आलेको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस