
समाचार कुञ्ज निराज रानाभाट, काठमाडौं । सृजना युवा क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई २५ हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरेको छ । नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा युवा पुस्ता ( जेन जी ) ले २०८२ भदौ २३ र २४ गतेको आन्दोलन क्रममा राजधानी काठमाडौंको स्वयम्भूस्थित भूइखेलमा रहेको महानगरीय प्रहरी वृत्त कार्यालय आगजनी र तोडफोडबाट पूर्ण क्षति भएको र उक्त कार्यालय संचालनमा कुनै कठिनाइ नपरोस् भन्ने उदेश्यले सृजना युवा क्लबले २५ हजार रुपैयाँ बराबरको ३ थान प्लास्टिक टेबल र २३ थान प्लास्टिक मेच हस्तान्तरण गरेको छ ।
आज काठमाडौंको स्वयम्भूस्थित भूइखेलमा रहेको महानगरीय प्रहरी वृत्त कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । सृजना युवा क्लबको अध्यक्ष कृष्ण बसेलले महानगरीय प्रहरी वृत्त स्वयम्भूको वृत्त प्रमुख उद्धव सिंह भाटलाई औपचारिक रुपमा हस्तान्तरण गरे । ‘हाल हाम्रो राष्ट्र ठूलो युवा आन्दोलनपछि सकारात्मक परिवर्तनको लयतिर अगाडी बढिरहेको परिस्थितिमा हामी सबैले सक्दो सहयोग गर्नु नै हाम्रो राष्ट्र प्रतिको कर्तब्य हो’, बसेलले भने । बसेलले सबै जनाले सक्दो सहयोग गरी राष्ट्र पुन:निर्माणमा जुट्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस