
समाचार कुञ्ज भिमाद, तनहुँ ।
भिमाद नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (NNRFC) को सहजीकरणमा “वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सोमबार सम्पन्न भएको छ ।
कार्तिक ११ गते भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षता तथा नेपाल सरकारका पूर्वमन्त्री माननीय किरण गुरुङज्यूको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा आयोगका अध्यक्ष श्री जुद्ध बहादुर गुरुङज्यूले वित्तीय संघीयताको सैद्धान्तिक र व्यावहारिक पक्षबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले स्थानीय तहमा स्रोत वितरण, राजस्व बाँडफाँटको प्रक्रिया र वित्तीय पारदर्शिताका मापदण्डहरूबारे प्रकाश पार्दै, ती सूचकाङ्कहरूबारे सचेत नगरपालिकाहरूले बढी स्रोत परिचालन गर्न सक्ने अवसरहरूबारे जानकारी दिनुभयो।
कार्यक्रममा नगर उप–प्रमुख श्री शारदा खनालज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमलप्रसाद पुनज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, पत्रकार, विभिन्न शाखा प्रमुखज्यूहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय तहमा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापनमा पारदर्शिता, र आगामी वर्षका योजना निर्माणमा वित्तीय सूचकहरूको प्रयोगका सम्बन्धमा सहभागीहरूलाई महत्वपूर्ण ज्ञान तथा मार्गदर्शन प्रदान गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस